रमेश विश्वकर्मा
गुल्मी, फागुन १७ गते । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयको नयाँ भवन बन्ने भएको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्यास गर्नुभएको उक्त भवन चार कोठाको निर्माण हुने भएको छ । भवनको शिलान्यास गर्नुहुँदै प्रमुख पन्थीले नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकता राखेको बताउनुभयो ।
नगरपालिकाभित्रकै भौगोलिक रूपमा दुर्गम वडामा रहेको यस विद्यालयमा नयाँ भवन निर्माण हुने भएपछि पठनपाठनका लागि थप सहज हुने उहाँको भनाइ छ ।
“विद्यालयमा भौतिक पूर्वाधार थप हुने भएपछि यहाँका अभिभावक र विद्यार्थी हर्षित भएका छन् । यो भवन ५० लाख रुपियाँ लागतमा निर्माण हुनेछ ।” उहाँले भन्नुभयो, “विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै उत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुने विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।” उक्त भवन आगामी वर्षको असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्न प्रमुख पन्थीले आग्रह गर्नुभयो ।
उपभोक्ता समितिमार्फत उक्त भवनको निर्माण कार्य भइरहेको छ । अहिलेको आवश्यकता अनुसारका भौतिक पूर्वाधार निर्माण भएसँगै पठनपाठनलाई पनि सहजता ल्याउने वडाअध्यक्ष धनबहादुर पुनले विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख पन्थीले दुर्गम स्थानमा रहेको यस विद्यालयको भवन शिलान्यासपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग विद्यालयको समग्र अवस्था र आवश्यकताका विषयमा छलफल गर्नुभयो ।