• २४ चैत २०८२, मङ्गलबार

ठेकेदारको लापर्बाहीले निर्माणमा ढिलाइ

blog

निर्माण हुन नसकेको घोराही–मसिना–मर्पेस–बोझपोखरा सडकखण्ड ।

घोराही समाचारदाता 

घोराही, चैत २४ गते । दुई वर्षमा काम गर्ने गरी ठेक्का सम्झौता भएको घोराही–मसिना–मर्पेस–बोझपोखरा सडकखण्ड पाँच वर्षसम्म पनि स्तरोन्नति गर्ने काम पूरा हुन सकेको छैन । ठेकेदारको लापर्बाहीका कारण दुई पटक म्याद थप गर्दासमेत सडक निर्माणको काम अलपत्र छ । घोराही–मसिना–मर्पेस–बोझपोखरा हुँदै प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी जोड्ने ग्रामीण सडकका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका लागि २०७८ वैशाखमा स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौँसँग करिब १२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौता अनुसार २०८० वैशाख मसान्तभित्र सक्नुपर्ने सडक स्तरोन्नतिको काम करिब पाँच वर्ष पूरा हुन लाग्दा सडक स्तरोन्नतिको आधा काम पनि भएको छैन ।  

घोराही–मसिना–मर्पेस–बोझपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१८, सिस्नेखोला पुलदेखि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नतिको काम सो ठेकेदार कम्पनीले लगेको थियो । 

सो सडकमा साँघुरो सडक विस्तार गर्नेदेखि नाला, कलभर्ट निर्माण, ह्युमपाइप राख्नेदेखि पहिरोको जोखिमयुक्त ठाउँमा पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको थियो तर सम्झौता अनुसार सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौँले ठेक्का लिएरपछि आफैँले काम नगरेर पेटी ठेक्का अन्तर्गत अर्को ठेकेदार कम्पनी जेएनबी कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई जिम्मा दिएको थियो ।