• २४ चैत २०८२, मङ्गलबार

बाँकेका सरकारी कार्यालयमा विहान सेवाग्राहीको संख्या न्यून

blog

सरकारी कार्यालयहरुको अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय बाँके। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २४ गते ।
सरकारको निर्णयअनुसार सोमबारदेखि लागू हुने गरी बाँके जिल्लाका अधिकांश सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुन थालेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, विभिन्न सरकारी कार्यालयमा बिहान ८ः४५ बजेसम्म अधिकांश कर्मचारी कार्यालय पुगेका र कार्यालयहरु खुलिरहेको देखिएको छ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले भन्नुभयो, “जिल्लाका अधिकांश सरकारी कार्यालय समयमै खुलेका छन् र कर्मचारी पनि निर्धारित समयमा उपस्थित भएका छन्। तर सेवाग्राहीको संख्या बिहान अपेक्षाकृत कम छ। पहिलो दिन सोमबार बिहान ९ बजे कम सेवाग्राही पुगे पनि मङ्गलबार यस संख्या बढेको छ।”

उहाँले थप्नुभयो, “सरकारी कार्यालयको अनुगमन निरन्तर जारी रहनेछ। समयमा नखुल्ने वा समयमा कार्यालयमा नपुग्ने कर्मचारीलाई कारबाही गरिनेछ। कर्मचारीहरुलाई सेवाग्राहीलाई समस्या वा गुनासो नहुने गरी काम गर्न निर्देशन दिइएको छ।”

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सविन सिंह चौधरीले पनि पहिलो दिन सबै कर्मचारी समयमै कार्यालयमा पुगे पनि विहान ९ बजे धेरै सेवाग्राही नआएको र मङ्गलकारदेखि संख्या बढेको बताउनुभएको छ।

स्थानीय तहका कार्यालयहरु पनि विहान ९ बजेदेखि खुलेका र अधिकांश कर्मचारी कार्यालयमा उपस्थित देखिएका छन्।