• ८ मंसिर २०८१, शनिबार

इतिहास जोगाउँदै नीलगिरि

blog

 देबु लुइँटेल 

नीलगिरि माध्यमिक विद्यालय पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका–५ स्थित मुक्तुरा छ । नेपालको पूर्वी पहाडी क्षेत्रका ग्रामीण बस्तीका मानिसलाई चेतनाको ज्योतिले उज्यालो पार्ने तीर्थमध्येको यो एक हो । हरिनारायण खनाल, नेत्रप्रसाद सङ्ग्रौलाजस्ता स्थानीय शिक्षाप्रेमी र बुद्धिजीवीहरूको नेतृत्व अनि स्थानीयको सामूहिक पहलमा वि. सं. २०१५ मा प्राथमिक विद्यालयका रूपमा यस विद्यालयको स्थापना भएको थियो । आजसम्म आइपुग्दा यसको निकै लामो इतिहास र विरासत बनिसकेको छ ।

सफा आकाशको रङ (नील) अनि हरियो पहाडको अवस्थिति (गिरि)को संयोगबाट राखिएको यस विद्यालयको नाम ‘नीलगिरि’ साँच्चिकै सार्थक र सुन्दर छ । समुद्र सतहदेखि एक हजार एक सय ५० मिटर उचाइमा नीलो आकाशको मुनि हरियो गिरिमा रहनुले मात्र यसको सुन्दरतालाई पूर्ण गरेको छैन, आँखै अगाडि उभिएका कञ्चनजङ्घा हिमशृङ्खलाका उज्याला चुचुराहरूको साथ र स्वस्थ अनि स्वच्छ प्राकृतिक वातावरण यो सुन्दरताका थप कारक बनेका छन् । विद्यालय जस्तो संस्थाका लागि बाहिर देखिने सुन्दरताले मात्र महत्वपूर्ण बनाउन सक्दैन । यसका लागि त शैक्षिक दृष्टिले सम्पन्न र स्तरीय बनाउन गरिएका प्रयत्नहरूको पनि उत्तिकै महत्वपूर्ण योगदानको आवश्यकता पर्दछ । नीलगिरिलाई यो अवस्थामा ल्याउनका लागि भएका प्रयासहरू पनि उस्तै सराहनीय छन् ।

भौतिक पूर्वाधारका दृष्टिले हेर्दा सुरुका दिन अर्थात् वि.सं. २०१५ मा यो विद्यालय स्याउले कटेरोको स्वरूपमा थियो । केही वर्षमा यसलाई खरले छाएको घरको स्वरूपमा ल्याइयो । पछि २०२२ सालमा सरकारी सहयोगबाट कर्कटपाता प्राप्त भयो । सम्पन्नता थप्दै अगाडि बढाउँदा आज यस विद्यालयमा पुराना सातवटा अनि एउटा आधुनिक पक्की भवन बनेका छन् । विद्यालयको परिसर २१ रोपनीको क्षेत्रमा भएको छ । यहाँ उपयुक्त कक्षाकोठा, सापेक्षित रूपमा सम्पन्न पुस्तकालय अनि पिउने शुद्ध पानीको प्रबन्ध गरिएको छ । छात्र र छात्राहरूका लागि व्यवस्थित शौचालय बनाइएको छ अनि उपयुक्त खेलमैदानको पनि निर्माण गरिएको छ । 

यस विद्यालयको शैक्षिक प्रगतिको पाटोले पनि क्रमशः अग्रगति लिँदै आएको छ । स्थापनाको सुरुको चरण यस विद्यालयमा प्रा. वि. तहसम्म मात्रै पढाइ हुने गथ्र्यो । स्थानीयहरूको अथक प्रयासबाट २०२१ सालमा आइपुगेपछि यहाँ मा. वि. तहको पठनपाठन हुन थाल्यो । वि.सं. २०२३ मा यस विद्यालयले पहिलो पल्ट एसएलसी परीक्षामा विद्यार्थीलाई सामेल गराउन सक्यो । समुदाय र समयको मागसँगै शैक्षिक वर्ष २०५४÷५५ बाट यहाँ उच्च माध्यमिक तह (कक्षा ११ र १२) सम्म अध्ययन अध्यापन हुन थाल्यो । हाल यहाँ बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्छ । कक्षा १ देखि १० सम्म दिउँसोको समयमा कक्षा सञ्चालन हुन्छ भने ११ र १२ कक्षा भने बिहानी सत्रमा सञ्चालन हुन्छ ।  हाल यस विद्यालयका प्राचार्य होमप्रसाद खनाल हुनुहुन्छ । एकचेपा, खाम्खु, सिम्ले, भालुखोप, भारपा, तोक्रुम्बा, डाँडागाउँ, मसरगाउँ, माँझगाउँ, मुक्तुराजस्ता स्थानीय गाउँ र टोलका बासिन्दाहरूले यस विद्यालयबाट शैक्षिक लाभ लिन पाइरहेका छन् ।  यस विद्यालयले यो स्वरूप प्राप्त गर्नुका पछाडि स्थानीय किसान, व्यापारी, शिक्षाप्रेमी, राजनीतिज्ञहरूको श्रमदान अनि आर्थिक तथा अन्य सहयोग बिर्सिनसक्नुको  छ । 

यस विद्यालयमा नीलगिरि नामको बालक्लब पनि छ । उक्त क्लबले विभिन्न अतिरिक्त क्रियाकलापहरूको सञ्चालनका साथै सचेतनामूलक कार्यक्रम आयोजना गर्ने गर्छ । विद्यालय परिसरमा पुरानो चौतारो अनि चौतारामा वरको ठूलो रुख छ । चौतारो भरिया र अरू यात्रीहरूको विश्राम गर्ने थलो मात्र बनेको छैन विद्यालयका कतिपय अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने स्थल पनि बनेको छ । नजिकै स्थापना गरिएका स्वास्थ्य चौकी, हुलाक कार्यालय अनि गाउँ कार्यपालिकाको कार्यालयले यस विद्यालयलाई उक्त समुदायका लागि सरोकारको केन्द्र बनाउन थप सहयोग गरेका छन् ।  

भौगोलिक हिसाबले उपयुक्त र शैक्षिक हिसाबले उत्कृष्ट यस विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात पनि मिल्दो किसिमको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अनि कर्मचारीको समन्वयात्मक अनि सशक्त भूमिकाका साथै अभिभावकको पर्याप्त सचेतताले विद्यालयलाई स्तरीय बनाउन सहज भएको छ । पछिल्लो समयमा सोलार प्यानल राखेर विद्युत् अनि इन्टरनेटसमेतमा पहुँच पुग्न सक्दा प्रविधिसँग जोडिन विद्यालयलाई झनै सजिलो भएको छ । नेपालको ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट विद्यायलका रूपमा नीलगिरि माध्यमिक विद्यालयलाई चिनाउन प्रधानाध्यापक होम खनालको कुशल नेतृत्वले सुनमा सुगन्धको काम गरेको छ ।