• १३ असोज २०८१, आइतबार

आर्मीलाई भद्रपुर झापा गोल्डकप उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, फागुन १६ गते । भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

आर्मीको जितमा गोलरक्षक समित श्रेष्ठ नायक बन्नुभयो । उहाँले मच्छिन्द्रको दुई वटा प्रहार बचाउनुभएको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गर्नुभयो । 

सेसेहाङ आङ्देम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पार्नुभएको थियो । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले मात्र गोल गर्न सक्नुभयो । रन्जित धिमाल र देवेन्द्र तामाङको प्रहारलाई आर्मीका गोलरक्षक समितले विफल पार्नुभएको थियो ।

उपाधिसँगै आर्मीले १३ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता मछिन्द्रले सात लाख रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा गोलरक्षक आर्मीका समित श्रेष्ठ बन्नुभयो । उत्कृष्ट गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाईजका आशिस चौधरी बन्नुभयो ।

उदयमान खेलाडी मछिन्द्रका सौरव राई बन्नुभयो । उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ हुनुभयो । प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी मछिन्द्रका क्याप्टेन सुजन श्रेष्ठले प्राप्त गर्नुभयो । 

श्रेष्ठले एक लाख र अन्य विधागत सर्वोकृष्ट खेलाडील २५ हजार रुपियाँ प्रदान गरियो । यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गरेको छ ।