• २४ पुस २०८१, बुधबार

स्पोर्ट्स अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक

blog

स्पोर्ट्स अवार्डका लागि मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिँदै । तस्बिर : विकास द्वारे

काठमाडौं, फागुन १६ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ का लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । हरेक विधाको मनोनयनमा पाँच पाँच जना परेका छन् । 

वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, फुटबलका अन्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल पर्नुभएको छ । 

महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सिता रानामगर, रुविना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा पर्नुभएको छ । 

वर्षको उत्कृष्ट युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा हुनुहुन्छ । 

यस्तै वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगीलामा, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट हुनुहुन्छ । 

मञ्चका सचिव अन्जन खड्काको संयोजकत्वमा गठित छनोट समितिले मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षक नाम छनोट गरेको हो । अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा नौ विधामा अवार्ड प्रदान गरिने छ ।

जसमा पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ । लाइफटाइम, स्पेसल, पारा एथलेट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ। . अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ र आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।