• १३ साउन २०८१, आइतबार

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

blog

साहित्यकार वैरागी काइँला र गोपाल पराजुली । फाइल तस्बिर

काठमाडौं, फागुन १६ गते। नेपाली भाषा साहित्यमा तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ। नेपाली साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’ को राशि एक लाख रुपियाँको छ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तर आधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा यी पुरस्कार समर्पण हुनेछन्। वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो।