काठमाडौं, फागुन १४ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानो गुहृेश्वरी क्षेत्रमा रहेको सृजना ज्ञानसागर माध्यमिक विद्यालयले ३७ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विविध जाति, क्षेत्रगत समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै उनीहरूले आफ्ना अभिभावकले छोरा छोरीहरूलाई आफ्नो इच्छा वा गर्न नसकेको कुरा लाद्नेभन्दा पनि उनीहरूको रुचि, क्षमता र प्रतिभा चिनेर मार्गदर्शन गर्नुपर्दछ भन्ने सन्देशमूलक नाटक मञ्चन गरे ।
विद्यालयका प्राचार्य राजेन्द्रप्रसाद फुयाँलका अनुसार, कार्यक्रममा योगा तथा ध्यानको कलापूर्ण प्रस्तुति, तेक्वन्दो मार्सल आर्ट कला प्रस्तुति, सामूहिक गीतावाचन, कक्षागत स्वर तथा सङ्गीतद्वारा मनोरञ्जनात्मक प्रत्यक्ष प्रस्तुति देखाइएको थियो ।
कार्यक्रममा विद्यालयमा दीर्घसेवा गरेका शिक्षक तथा कर्मचारी र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरियो । उहाँहरूलाई बागमती प्रदेश सभा सदस्य अमनकुमार मास्केले सम्मानपत्र तथा कदरपत्र प्रदान गर्नुभएको जानकारी विद्यालयका प्राचार्य राजेन्द्रप्रसाद फुयाँलले दिनुभयो ।
यसैगरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य अमनकुमार मास्के, अर्गनाइजेशन अफ प्राइभेट स्कुल (ओपीए) का अध्यक्ष लोकेन्द्रबहादुर खड्का, सचिव शिवप्रसाद अर्याल, बालाजु प्रहरी प्रभागका प्रमुख मनजित कुँवर, तारकेश्वर नगर प्यावशन अध्यक्ष धनबहादुर पुन, तारकेश्वर नगर उपाध्यक्ष गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिका वार्ड नं. ४ अध्यक्ष नरेन्द्रदास श्रेष्ठलगायतको सहभागिता थियो ।