• १३ साउन २०८१, आइतबार

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ : उम्मेदवार नेम्वाङ

blog

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा पुग्नु भएको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ (बीचमा) । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १३ गते । नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।

शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपाध्यक्ष नेम्वाङले दाबी गर्नुभएको हो । उहाँले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गर्नुभयो ।

उहाँले स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो । स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु । अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका निर्वाह गरेँ । संविधानको संरक्षक हुने अवसर पाएको छु ।’’

संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुखसमेत रहनुभएका उहाँले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताउनुभयो । उम्मेदवार नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहनुभएको छ भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।

यो पनि पढ्नुहोस

राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता