• ८ मंसिर २०८१, शनिबार

रुबी र चाँदी

blog

नामै राम्रो – रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारले कुरेका छन् । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे-यै भए । 

झन्डै चार दशक भयो गणेश हिमालको फेद सोमदाङ (रसुवा)मा ‘विकास’ पुगेको । सरकारले यहाँको पत्थर खानीबाट लाभ लिन रसुवातर्फबाट सोमदाङसम्म मोटर बाटो पनि पु-यायो । धादिङ जिल्लाको उत्तरी भेग रुबीभ्याली गाउँपालिका छेउमा, रसुवाको सीमासम्म चार दशकअघि नै पुगेको यो विकास विस्तार भएन । तर अलि पर, पाङसाङ पास (भञ्ज्याङ) का स्थानीयले त्यसको लाभ पाउन सकेनन् । 

वि.सं २०३३ मा स्थापित गणेश हिमाल मेटल कम्पनी । भारतीय कम्पनी, संयुक्त राष्ट्रसङ्घीय नियोग –युएनडीपीको अनुसन्धान हुँदै अहिले चिनियाँ कम्पनीको लगानी मातहतमा पुगेको छ यो कम्पनी । ‘२२ सय मिटर सुरुङ पनि छ, सबै पूर्वाधार छ, जिंक र लिडको उच्च मूल्य सम्भावना छ । तर आठ नौ जना मात्र कर्मचारी छौँ’, सो कम्पनीका हाकिम हरिप्रसाद घिमिरे भन्नुहुन्छ । खानी विभाग मातहतमा हुनुपर्ने यो संस्था कम्पनीमा पारित ग-यो सरकारले । रुबीभ्यालीको खानी, त्यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति बेवास्तामा प-यो । 

यहाँ रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज (सेतो/दर्शन ढुङ्गा) त यत्रतत्र छ । यही स्रोतका लागि २०३३ मा कम्पनी सुरु भयो, ०४२/४३ मा आईपीओ जारी भयो । २०४५/४६ देखि त बन्दै भयो । पूर्वमन्त्री बुद्धिमान तामाङ भन्नुहुन्छ­, “तिप्लिङमा गहुँको दानाजस्तै (रुबी) पाइएको सुन्छु । युएनडीपी, भारत र चीनको अनुसन्धान खानी विभागमा थन्किएको छ । सम्भावना राम्रो छ ।” 

तामाङका मित 

धादिङ रुबीभ्याली गाउँपालिका तामाङ बाहुल्य छ । वडा नम्बर ४ को गुरुङ र वडा नम्बर ३ को तामाङ बस्ती – चालीस जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ हुन् ।  तामा, फलाम खोज्दै आएका गुरुङ अनि कृषि औजारका लागि ल्याइएका कामी अनि ओरापरीका लागि ल्याइएका दुई घर परिवार पाटनका शाक्य । तामाङले घलेलाई राजा बनाए । तामाङका मित गुरुङले भेडाको छालाले ओगट्ने जमिन मागे । बाठा गुरुङले त्यो छालाको धागो बनाएर जग्गा नापेर लिए भन्छन् स्थानीयवासी । चालीस गुरुङ बस्तीको जग्गा अहिले पनि फराकिलो छ । 

सेर्तुङका तामाङले मित (गुरुङ)लाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । चौतर्फी तामाङ बस्ती र बौद्ध परम्परा । गुरुङ भन्दासाथ बौद्ध धर्म, परम्परा, संस्कृति, तमु क्यु (गुरुङ भाषा) अनि भाँग्रा, घलेक, लुङ्गी जस्ता पोशाकका ठानिन्छ तर त्यो भएन । अघिल्ला पुस्ता घाटु, मारुनीजस्ता गीत नृत्यमा त खुबै रमाए तर हराउन थाल्यो त्यो पनि । 

अब चाहिँ पुनःजागृत हुँदैछ चालीस । ‘यहाँका गुरुङ भर्खर आफ्नो भाषा खोज्दैछन्’, रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ भन्नुहुन्छ । रुबीभ्यालीमा आएर बसोबास गरेका परिवारको सङ्ख्याका आधारमा गाउँका नाम बने पैँतीस, चालीस र साठी । पैँतीस अहिले छैन, साठीमा हो अत्यधिक तामाङ, केही घले र कामी रहेको उपल्लो गाउँ हो– सेर्तुङ । यी सबैको साझा भाषा बन्यो तामाङ । तामाङ र गुरुङ दुवै जातीय आग्रहबाट बौद्धमार्गी ठानिन्छ तर चालीसका गुरुङको न त तमु भाषा न त बौद्ध धर्म संस्कृति परम्परा । खस–बाहुन नरहेको त्यो ठाउँमा उनीहरूको मातृभाषा नै नेपाली छ । अझ छोरीबहिनीभन्दा खस शब्द ‘छरबैनी’ प्रयोग गर्छन् । परम्परा, संस्कृति हिन्दु छ ।

तामाङ बाहुल्य समाजमा सहअस्तित्वमा रमाउँदै आएको चालीस बस्तीमा देवदेवीस्थान बनाइएका छन् । ५२ वर्षीय धनबहादुर घलेका अनुसार यहाँ तीनकन्या मन्दिर, भवानी (बलि पुज्ने थान) गणेश मन्दिर, शिव मन्दिर छन् । 

यहाँको जन्म मृत्यु संस्कार हिन्दुको छ । बाहुन ज्योतिषलाई हेराएरै न्वारन, पास्नी, बिहेको लगन जुराइन्छ । मृत्यु भए अविवाहितबाहेकलाई जलाइन्छ र तेह्र दिन किरिया र सेतो कपडा लगाएर बरखी बार्ने गरिन्छ । वैशाखमा पर्ने नयाँवर्षदखि चैतेदशैँसम्मका प्रायः सबै हिन्दूपर्व (शिवरात्रिबाहेक) मनाउने गरिन्थ्यो । तीजमा महिलाहरू व्रत बसी रातो पहिरन र चुरामा सजिएर शिवमन्दिरमा मेला भर्थे, स्थानीय बासिन्दा तथा गणेश हिमाल पर्यटन विकास समितिका पूर्वअध्यक्ष तेजबहादुर गुरुङ भन्नुहुन्छ । उहाँका अनुसार तर अब अवस्था फेरिँदैछ । गुरुङले आफ्नो भाषा, धर्म, संस्कारमा आफ्नो पहिचान स्थापना गर्न खोजिरहेका छन् । 

हिजोको झगडा आज मिलाप

शायद नेपालमा सबैभन्दा बढी धर्मपरिवर्तन भएको ठाउँ हो यो क्षेत्र । बाराङमा पुर्खा भएका पूर्वमन्त्री बुद्धिमान तामाङ भन्नुहुन्छ­, त्यहाँ नब्बे प्रतिशतले धर्म परिवर्तन गरे । 

वडा नम्बर १, लिङ्जो लब्दुकस्थित दोङदेन माध्यमिक विद्यालयका शिक्षक सोमबहादुर तामाङ भन्नुहुन्छ– मेरा बा लामा । उहाँले नै धर्म परिवर्तन गर्नुभयो । 

चालीस, सेर्तुङपारिको खोंचमा रहेको तिप्लिङ गाउँवासीको पीडाले धर्म परिवर्तन गरायो । सोमबहादुर भन्नुहुन्छ– “कोही बिरामी हुँदा धामी झाँक्रीले पाँच छवटा भाले, थुमा खाइदिने तर बिरामी निको नहुने । तिनकै कारण जग्गा धितो राख्नुपर्ने । बलि प्रथाबाट मुक्ति पाउन पनि धर्म परिवर्तन गरे । यहाँ बौद्ध धर्मावलम्बीले पनि आफ्नो धर्म, संस्कार जोगाउन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले म्हाने (छोर्तेन÷स्तूप) बनाउने, जोगाउने गररिहेका छन् ।” तिप्लिङका सोमबहादुर तामाङ भन्नुहुन्छ– हामीले प्याल्दोर डाँडामा शायद एसियाकै दोस्रो अग्लो (३० फिट))क्रस बनायौँ । त्यही डाँडाको क्रसका कारण द्वन्द्व भयो । बौद्धमार्गीले छेउमा स्तूप बनाए । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ भन्नुहुन्छ– अहिले विवाद छैन । सहिष्णु छ रुबीभ्याली । रुबीभ्याली गाउँपालिका–१, का प्रकाश घले भन्नुहुन्छ– एक पटक संस्कारमा द्वन्द्व भयो । हामी मिलेका छौँ । एकआपसका संस्कारामा सहभागी हुन्छौँ ।

पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक बिरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको बेवास्ताले रूबी र चाँदी बेवारिस छ । 

सरकारले २०३३ सालमै सोमदाङसम्म मोटरबाटो पु-यायो तर जनताको जीवनस्तर सोचेन । रसुवाको सोमदाङतर्फबाट नेपाल जेसुइट सोसियल इन्स्टिच्युटले मोटर बाटो पु-याइदियो । त्यो क्षेत्रका अधिकांश बालबालिका सेन्ट जेभियर्स/सेन्टमेरिज विद्यालयको प्राथमिकतामा रहेकोे स्थानीय बताउँछन् । बालबच्चा पढाउने खर्च नलागेपछि, उपचारमा बलि चढाउन नपरेपछि धार्मिक आस्था बाँकी राख्ने कुरै भएन । 

व्यवसायीको योगदान 

पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक बिरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको बेवास्ताले रूबी र चाँदी बेवारिस छ । धादिङको उत्तर–नुवाकोट, रसुवा, गोरखा अनि तिब्बत नाका जोडिने यो क्षेत्र गणेश हिममालाको फेद हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको तीन वर्षअघि नै ‘रेमन्ड’ ले सगरमाथा आरोहण असफल भएपछि गणेश हिमाल चढेका सुनाउनुहुन्छ ट्राभल्स एजेन्ट एसोसिएसन नेपाल (टान) का पूर्वउपाध्यक्ष एवं गणेश हिमाल पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष तेजबहादुर गुरुङ ।

यहाँको पर्यटन क्षेत्रमा जे भएको छ, यिनै गुरुङहरूले गरेका छन् । विदेशभन्दा पर्यटन क्षेत्रमा लागेका छन् रुबीभ्यालीका पाँच गाउँका गुरुङ । तामाङ, गुरुङ, घले, कामी र शाक्य (थोरै परिवार) को बसोबास रहेको यो पालिकामा केही होटल र मनग्ये होमस्टे (घरबास) पनि बनाइएका छन् । तर चालीस गाउँवासी पसले धने गुरुङले भन्नुभयो, ‘विदेशी नदेखेको त चार–पाँच वर्ष भयो । पर्यटक आउँछन् भनेर लगानी गरियो तर खोइ ?’ ‘भीरको बाटो सम्मै छ खनेर, आउन जान सजिलो भनेर’, यो लोकभाकाजस्तै अहिले धादिङ बेंसी अनि रसुवातर्फ धुन्चे, गत्लाङ हुँदै हिमाली भन्ज्याङ (पाङ्साङ पास) बाट कच्ची सडक जोडिएको छ । भिरको कच्ची सडक, धुलो र हिलो–तत्काल त ‘कमजोर मुटु’ भएकालाई यो यात्रा गाह्रो छ तर साहसिक यात्रा मन पराउनेलाई मज्जा छ । तेजबहादुर गुरुङको अनुमान बेग्लै छ । उहाँले भन्नुभयो, “६०/७० वर्षअघि नै गणेश हिमाल आरोहण भए पनि पछि किन आरोही र पर्यटक आएनन् ? गणेश हिमाल धार्मिक आस्थाका हिसाबले मानसरोवर÷कैलाश, पशुपति, पार्वतीकुण्डसँग जोडिएको छ । शिव पार्वतीका सन्तान गणेश भनेर यसमा आरोहण अनुमति नदिएको हो कि ?” गोसाइकुण्ड, पार्वती कुण्ड, सिङ्ला पास, पाङ्साङ पास जोडेर सुन्दर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तर गणेश हिमालको आधार शिविर पनि बनाइएको छैन; सहज पदमार्ग पनि विकास गरिएको छैन ।

“२०३३ सालमै रसुवाको सीमासम्म सडक आएको थियो तर राज्यले अहिलेसम्म हामीलाई बेवास्ता ग-यो, राजनीतिक नेतृत्वबाट बेवास्ता भयो, अब नयाँ पुस्ता नेतृत्वमा आएका छौँ, धुले सडक जोड्यौँ, अरू काम गर्दैछौँ”, गाउँपालिका अध्यक्ष रामसिं तामाङले भन्नुभयो । धादिङको धादिङबेसीबाट ७० किलोमिटर र रसुवाको सोमदाङबाट ३० किलोमिटर दूरीमा रहेको सेर्तुङको ब्राबरजोङ (घले दरबार) को भग्नावशेष भएको डाँडाबाट टक्क सामुन्ने देखिन्छ गणेश हिमाल ।


अधिकांश तामाङ जाति रहेको यहाँ रुबी (रातो पत्थर) समेत पाइने भएकाले पर्यटन व्यवसायीको प्रस्तावमा साबिक तिप्लिङ, सेर्तुङ र लापा गाउँ विकास समितिलाई मिलाएर रुबीभ्याली गाउँपालिका बनाइयो । सोली आकारका खोँच र पहराको तलेत्रामा बस्तीहरू रहेको यो ठाउँ सुन्दर छ । चालीस गाउँबाट ४५ मिनेट यात्रामा अनि लिङ्जो गाउँतिर तातोपानीका मूल छन् । सङजेन भ्यालीमा तीनवटा विशेष ताल छन् । पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । होमस्टे बनाइए पनि, सडक पुगे पनि पर्यटक छैनन् ।

किन छैनन् पर्यटक ?

यो ठाउँ आकर्षक छ तर घुमन्ते पुग्दैनन् । ग्रामीण पर्यटनविज्ञ प्रा.डा. प्रेम शर्माले भन्नुभयो, “यहाँको चेतनास्तर विकास हुनुपर्छ । सुरक्षा र सुसंस्कार महसुस हुनुपर्छ । स्थानीयवासी मात्र होइन, पर्यटन प्रवद्र्धनमा लागेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको मनोभाव बुझेर सेवा दिन सक्नुपर्छ ।” पचास–साठी वर्षअघि नै पर्यटक पुगेको यो क्षेत्रमा सुरक्षासम्बन्धी पहिलो प्रश्न छ । केही वर्षअघि दुई ताइवानी युवा–युवती पुरु गाउँमाथिको डाँडामा अल्झिएर ४२ दिन हराए । उनीहरूको उद्धार गरिए पनि युवतीको देहवसान भयो । त्योसँगै, यहाँ कुटपिट र चोरी हुने हल्ला चल्यो । काठमाडौँ उपत्यकाका तीन डाँडापारि यस्तो हल्ला साम्य पारेनन् सरकार अनि पर्यटक प्रवद्र्धकहरूले ।

सन् १९१२ मा पर्यटन बोर्ड नेपालको सहकार्यमा यहाँको पर्यटन सम्भाव्यता अध्ययन गरेर १८ वटा मार्ग पहिचान गरेको बताउनुहुन्छ तेजबहादुर गुरुङ । तीन दिनदेखि १८ दिनको यात्रा गर्न सकिन्छ यो क्षेत्रमा । तर, एक हजारदेखि चार हजार मिटरको भौगोलिक बनावटमा यात्रुको सुरक्षा र सेवामा विशेष ध्यानसहितको चेतना चाहिने प्रा.डा. शर्माले बताउनुभयो । सडक पुगेर मात्र हुन्न, पर्यटन विकासका लागि ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवै चाहिन्छ’ उहाँको भनाइ छ ।

पत्थरको खानी रुबीभ्याली काठमाडौँको नजिकको हिमाली गन्तव्य हो । अब यसको प्रवद्र्धन गर्दैछन् । नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिका र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) लगायतले । यहाँको पहाडी दृश्य सुन्दर छ, बासिन्दा वृद्धवृद्धा बढी छन् तर सहरमै भएकाहरू आफ्नो गाउँ आफैँ बनाउन सक्रिय छन् ।

स्थानीय सङ्घसंस्थासमेतको सहकार्यमा भिटोफ, नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिकाले रुबीभ्याली–४ चालीस गाउँ तथा वडा नम्बर ३ सेर्तुङमा पर्यटन प्रवद्र्धन प्रयास गरिरहेका छन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल भन्नुहुन्छ, ‘यहाँ पर्यटन विकास गर्ने भनेर मात्र हुँदैन । स्थानीय जागरण र उत्पादन पनि हुनु आवश्यक छ ।’ भिटोफका अध्यक्ष गोपाल थापाले पनि स्थानीय संस्कृति, प्राकृतिक सुन्दरता र अध्ययनका लागि राम्रो सम्भावना भए पनि स्थानीय उत्पादनमा जोड दिनुपर्ने देखिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘बल्ल कच्ची सडकले गाउँ जोडिएको छ । यसको स्तरोन्नति गर्नु छ । हामीले यहाँ पर्यटन र जलविद्युत् उत्पादनलाई आयस्रोतका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यस पटक पाँच लाख रुपियाँ पर्यटन प्रवद्र्धनलाई विनियोजन गरेका छौँ । सुरक्षाको समस्या पनि अब छैन ।