‘रसियनमा श्रीमतीलाई ‘झेना’ भनिन्छ । हामीले ‘झेना’ भन्दा अब्दु हाँस्ने गर्थे । यसमा चाहिँ उनले मज्जा लिन्थे । अनि अरबियनहरू ‘पदगताभिचेल्नी फाकुल्चेत’ लाई ‘बदगताभितेल्नी फाकुल्तेत’ भन्थे । हामी हाँस्थ्यौँ । अरबियनमा ‘प र च’ उच्चारण हुने रहेनछ । स्पेनिशभाषी निकारागुआन र क्युबेलीहरूको ‘ज’ उच्चारण नहुने रहेछ, उनीहरू त्यसको साटो ‘स’ उच्चारण गर्थे ।’
‘भर्खर भाषा सिक्दै गरेका हामी, त्यही माथि कैयौँ अक्षर उच्चारण गर्न मुस्किल मान्ने हाम्रो नेपाली जिब्रो । धेरैलाई हामीले बोलेको बुझ्न गाह्रो हुन्थ्यो । स्तलोभायामा खाना माग्दा हाम्रो बोली सुनेर एरेभानी महिला कहिलेकाहीँ पेट मिचिमिची हाँस्थे ।
हामीले फोनेटिक्सको सही अर्थ रूसी भाषा सिक्दा नै थाहा पायौँ । यहाँका कतिपय अक्षरको उच्चारण गर्न हाम्रो जिब्रो पछिसम्म नि सक्षम ठहरिएन । यहीँ हामीलाई नेपाली पातलो ‘स’ र ‘श’ को फरक अनुभूत भयो ।’
पेसाले इन्जिनियर र अभिरुचिले साहित्यकार रामबिन्दु श्रेष्ठ ‘रुस’ पढ्न जानुभएका बेलाको रोचक प्रसङ्ग हो यो ।
उच्चशिक्षा अध्ययनका लागि तत्कालीन सोभियत सङ्घमा रहँदा उहाँबाट बटुलिएका ज्ञान, सीप र अनुभूति ‘मेरा सोभियत सम्झनाहरू’ कृतिमा सँगालिएको छ । उक्त संस्मरणात्मक कृतिमा उहाँबाट भ्रमण गरिएका विभिन्न मुलुकबारे पनि विशद चर्चा गरिएको छ । त्यहाँ पढ्न बस्दा विद्यार्थीले बिदामा अन्य देश गई सरसामान ल्याएर बेचबिखन गरी केही अर्थोपार्जन गर्ने गरेको चखिलो पाटो पनि रहेको छ । सोभियतकाल तथा त्यस यताका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका आरोह, अवरोहलाई लेखकले विश्लेषणात्मक तबरबाट सोदाहरण दर्शाउनुभएको छ ।
लेखक स्वयंकै स्वीकारोक्तिमा ‘मेरा सोभियत सम्झनाहरू’ सोभियत भूमिमा छ वर्ष व्यतीत गर्दा लेखिएका दैनिकीमा आधारित छ ।’ उहाँका अनुसार ‘....त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमुरसम्मका रेलमार्ग निर्माणमा भाग लिएको, ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य, मान्यताका लागि सङ्घर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको, गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेको, मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीराङ्गनाले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेको, युद्धबाट क्षतविक्षत मुलुकलाई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पु-याएको... त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो ।’
शिक्षा मन्त्रालयबाट छात्रवृत्ति प्राप्त गरी सिभिल इन्जिनियरिङ अध्ययनका लागि सन् १९८५ मा सोभियतभूमि प्रवेश गर्नुभएका लेखकले त्यहाँ देखिए, सुनिए, पढिए र लेखिएका विषयवस्तु मात्र होइन, भावनाको सागरमा गोता खाई निकालिएका मोतीसमेत खिपी कृतिलाई गहकिलो बनाउनु भएको छ । तत्कालीन सोभियतभूमिले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी महादेशका विकासोन्मुख मुलुकका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्ने सुअवसर जुटाएको थियो । सोभियतभूमिका विभिन्न क्षेत्रमा पुग्दाका बेलीविस्तार होस् वा जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, स्विडेन, बुल्गेरिया, टर्की, पोल्यान्ड, स्पेन आदिको भ्रमण गरिँदाका अनुभूति होऊन्, तिनका रोचक एवं जानकारीमूलक प्रस्तुतिले कृति थप स्वादिलो बनेको छ । मस्कोको मेट्रो, अर्मेनियाको सङ्ग्रहालय, नेभा नदीको किनारमा रहेको ‘एरमिताझ म्युजियम’, अजरबैजानको बाकु, तुला समोभार सङ्ग्रहालय, टाल्सटायको जन्मस्थल यास्नाया पोल्याना, कृष्णसागरको तटमा रहेको ओडेसाको ‘विजय स्मारक’, मनोहर याल्टा, गासप्राको ‘गौंथली भवन’, निकितिन्स्किको वानस्पतिक उद्यान, लेनिनग्राड (हालको सेन्ट पिटसवर्ग÷पूर्वनाम– पेत्रोग्राड) आदिका वर्णन तथा प्रसङ्गवश कतिपय देश तथा स्थलका ऐतिहासिक चिनारीले कृतिको वैशिष्ट्य अभिवृद्धि गरेको छ ।
‘या नि ज्नायु रुस्की याजिक’ (म रुसी भाषा बोल्न जान्दिनँ) भन्दै सोभियत भूमिमा यात्रा अगाडि बढाउनुभएका लेखकद्वारा आफ्नो अध्ययन अवधिमा भेट भएका आत्मीय साथीभाइ, आदरणीय शिक्षक, अविस्मरणीय सहयोगी आदिका घटना–सन्दर्भलाई पनि निकै मोहक ढङ्गबाट सम्पे्रषण गरिएको पाइन्छ ।
विदेशीलाई नेपालबारे बोध गराउन हम्मे परेको लेखकसित हर्षानुभूति भएको यस्तो पक्ष पनि रहेको छ– ‘रुसीभाषा शिक्षिका ओल्गा दमित्रियभ्ना नेपालबारे अनौठो जानकारी राख्थिन् । उनी ‘नेपाल एतो क्वीशा मीरा, एतो इस्तोच्छ्निक् च्सिबिलिजाच्छ्यिी इ प्रीरोद्वी’ (नेपाल यो विश्वको छाना हो, यो मानव सभ्यता र प्रकृतिको स्रोत हो) भन्थिन् ।
विशुद्ध प्राविधिक विषय (इन्जिनियरिङ) का विद्यार्थी भए तापनि साहित्य, दर्शन, इतिहास, अर्थशास्त्र आदिको अवगाहनले गर्दा हुनुपर्छ, गम्भीर विषयवस्तुको प्रस्तुतीकरणमा समेत लेखकले कुशलताको परिचय दिनुभएको छ । सरल, सहज र स्वाभाविक भाषा, शैलीले कृतिको महत्ता बढाएका छन् । त्यसको एउटा दृष्टान्त हेरिहालौँ ! ‘कहिले रेल चढेको थिइन, शौचालय जान पनि नौलो लाग्यो । क्याबिनको रुसीले ‘राम हेयर इज ट्वाइलेट’ भनेर देखाइदिएपछि मात्र पसेँ । कता के थिच्ने वा खोल्ने हो भेउ पाइनँ । जे पर्लापर्ला भनेर ड्राइभरले जस्तो थ्याच्च फुटब्रेक हान्दिएको खलल्ल खुल्यो अनि सलल्ल लिकमा बग्यो । यत्ति कुरा जान्दा नि आनन्द लागेर आयो ।’
‘मेरा सोभियत सम्झनाहरू’ मा लेखक श्रेष्ठको स्कुले जीवनदेखि उच्चशिक्षा अध्ययन तथा त्यसयताका अवधिलाई समेत रोचक तबरले प्रस्तुत गरिएको छ । ती तमाम घटना, मिति, व्यक्ति अथवा स्थानविशेषका नाम अक्षरशः रहनु आफैँमा अचम्मलाग्दो कुरो हो । सानैदेखि दैनिकी लेख्ने लेखक श्रेष्ठको बानीले गर्दा नै कृति यसरी ओजिलो बन्न पुगेको अनुभव गर्न सकिन्छ ।
स्वाभाविकताको जलप लगाउने उद्देश्यले हुनुपर्छ, कृतिमा नेपाली रूपान्तरणसहित रुसी भाषाको पनि ठाउँ, ठाउँमा प्रयोग गरिएको छ र कताकतै अङ्ग्रेजी (रोमन लिपि) पनि भेटिन्छ । सन्दर्भअनुसार उखान, टुक्का र तस्बिरको प्रयोग अनि गतिला प्रसमा घतिला व्यङ्ग्यले मरमसलाको काम गरेको छ ।
नेपाल रुस साहित्य समाज, काठमाडाँै, नेपालद्वारा यही वर्ष (वि.सं.२०७९) प्रकाशित कुल ७६ पृष्ठको ‘मेरा सोभियत सम्झनाहरू’ को आवरण सुन्दर एवं आकर्षक छ । यसमा ‘सम्झनाका तरङहरूमा रमाउँदा’ र ‘मेरो भन्नु’ दुईवटा भूमिका रहेका छन्, पहिलो भूमिका सन् १९६७ मा उतिखेरको सोभियतभूमिमा अध्ययनार्थ जानुभएका ई. चन्द्रकान्त आचार्यको छ भने दोस्रो स्वयं लेखकको छ । पुछारमा रुसी भाषाका केही शब्दार्थसमेत दिइएका छन् ।
प्रयास, ज्वालामुखी, चौतारी तथा मित्रकुञ्ज स्मारिकाको सम्पादन कार्य समेत गर्नुभएका लेखक श्रेष्ठको प्रस्तुत संस्मरणात्मक ‘कृति’ आम पाठकका निम्ति त पठनीय छ नै, साथै समाजवादको प्रथम प्रयोग थलो सोभियतसङ्घ हुँदाखेरि र नहुँदाखेरिको परिवेश अध्ययन गर्नेका लागि समेत राम्रो खुराक बनेको छ ।