• ८ पुस २०८१, सोमबार

पर्यटन प्रवर्द्धनमा नै कर्णालीको समृद्धि

blog

मन्त्रालयबाट सञ्चालन गरिएका कामको जानकारी लिँदै मन्त्री जीतबहादुर मल्ल । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, फागुन ११ गते । कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन वातावरणमन्त्री जीतबहादुर मल्लले पर्यटन प्रवर्द्धनमार्फत नै कर्णालीको समृद्धि सम्भव रहेको बताउनुभएको छ । 

उद्योग पर्यटन, वन वातावरण मन्त्रालय मातहत रहेका कार्यालयबाट सञ्चालन गरिएको विभिन्न विकास निर्माण र दैलेख जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा भए गरेका कामको निरीक्षण गर्न दैलेख पुग्नुभएका उहाँले कर्णालीमा रहेको पर्यटकीय क्षेत्रको प्रवर्धन गरेर समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । 

उहाँले कर्णालीमा रहेको पर्यटन क्षेत्रमा सरकारले लगानी गरेअनुसार प्रतिफल प्राप्त गर्न नसकेको समेत उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकार वा सङ्घीय सरकार स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा लगानी गरेको भए पनि त्यसको प्रतिफल देख्न नसकेको बताउनुभयो । पर्यटकलाई जबरजस्ती आउनेभन्दा पनि स्वस्फूर्त रूपमा आउने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार लागेको उहाँको भनाइ छ । 

कर्णाली जल जमिन र जडीबुटीको राम्रो सम्भावना भएको भए पनि त्यसको सदुपयोग हुन नसकेको मन्त्री मल्ले बताउनुभयो । उहाँले कर्णालीमा उद्योग स्थापना, विद्युत् उत्पादन, जडीबुटीको प्रशोधन र पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न आवश्यक नीति नियम बनाउन आफू लाग्ने बताउनुभयो । ‘नीति निर्माण नभएका होइनन् भएका छन्, तर त्यसको कार्यान्वयन हुन सकिरहेको छैन’ उहाँले भन्नुभयो । 

पछिल्लो समय नागरिकहरूको बन क्षेत्र अक्रिमण गर्ने चुनौती समेत देखिएको बताउँदै उहाँले वन क्षेत्रमा बनेका घर टहरा हटाउन मातहतका निकायलाई निर्देशन समेत गरेको मन्त्री मल्ले बताउनुभयो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै नेपालगञ्ज सुर्खेत, दैलेख कालिकोट हुँदै नाग्चेनाग्लासम्म पुग्ने त्रिदेशीय सडक निर्माणलाई प्राथमिकता राखेर केन्द्र सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । 

उहाँले दुवै तर्फबाट सडक निर्माणको काम भएपनि बजेट प्राप्त नहुँदा काम कम हुनेगरेको बताउनुभयो । कर्णालीमा थुप्रै पर्यटकीय गन्तव्य भए पनि पर्यटकीय स्थलको इतिहास र जानकारी लिएर त्यसको प्रचार प्रसार गर्न सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।