• ६ जेठ २०८१, आइतबार

नामकरण विवादले बाह्र वर्षदेखि अलपत्र सङ्ग्रहालय

blog

अलपत्र अवस्थामा रहेको निर्माणाधिन संग्रहालय । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, फागुन ९ गते । बागलुङ नगरपालिका –१ बाङ्गेचौरमा निर्माणाधीन बागलुङ सङ्ग्रहालय विगत बाह्र वर्षदेखि अलपत्र परेको छ । रामरेखा सामुदायिक वनको जग्गामा निर्माणाधीन सङ्ग्रहालय कुनै पनि पक्षले स्वामित्व ग्रहण नगर्दा निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको हो । 

भवन निर्माण सम्पन्न भएर पर्यटकको पर्खाइमा हुनुपर्ने भवन अहिले जोगीको ओत लाग्ने स्थलको रूपमा परिणत भएको छ । तत्कालीन अवस्थामा निर्माण कार्य थालनी गरेको नेपाल आदिवासी जनजाति समन्वय समिति बागलुङले निर्माण कार्यबाट हात झिकेको छ । 

तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति सङ्ग्रहालय बनाउने उद्देश्यले भवन निर्माण थालिएको थियो । बागलुङ जिल्ला प्रवेशद्वार नजिकै निर्माण हुने सङ्ग्रहालय कुनै जाति विशेषभन्दा पनि सबैको पहिचान देखिनेगरी ‘बागलुङ सङ्ग्रहालय बनाउने सहमति पछि कुनै पनि पक्षले त्यसको जिम्मेवारी लिएनन् । 

जिल्ला प्रशासन, आदिवासी जिल्ला समन्वय समिति र रामरेखा सामुदायिक वन उपभोक्ता समुहबीच ‘जनजाति सङ्ग्रहालय’ बाट बागलुङ सङ्ग्रहालय बनाउने सहमति जुटे पनि निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट जुट्न सकेन । 

सामुदायिक वनले निर्माणको स्वामित्व लिने बताए पनि आर्थिक सहभागिता जनाएन ।  आदिवासी जनजाति जिल्ला समन्वय समितिले पनि एक्लै आर्थिक स्रोत व्यवस्थापन गर्न नसक्ने बताएपछि निर्माणाधीन संरचना लथालिङ्ग अवस्थामा छ । 

जनजाति समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा शिलान्यास गरिएको भवनको आर्थिक वर्ष २०६७–६८ मा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ । एक तला ढलान भएको भवनमा तत्कालीन जिविसबाट २५ लाख रुपियाँ लगानी भएको छ ।

भवनको स्वामित्व र स्रोतको विवादले निर्माण रोकिएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष गणेश थापाले बताउनुभयो । एक तला निर्माणपछि नामकरण विवाद र स्रोत जुटाउने कुरामा कसैले जिम्मेवारी नलिँदा अलपत्र परेको उहाँको भनाइ छ । 

तत्कालीन जिल्ला विकास समितिको ३४ प्रतिशत, वन उपभोक्ता समितिको ३३ प्रतिशत र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा सङ्ग्रहालय निर्माण थालिएको थियो । दशकदेखि भवन निर्माण समिति बनेको छैन ।