• १५ जेठ २०८१, मङ्गलबार

स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल

blog

प्रकाशविक्रम शाह

धनगढी, फागुन ९ गते । कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि नागरिक स्तरमा छलफल हुन थालेको हो ।

सो विश्वविद्यालय स्थापनाका लागि निक्कै दबाबमूलक काम गर्नु भएका निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टको उपस्थितिमा सोमबार धनगढीमा भावी कार्यदिशा र हाम्रो दायित्व बारे छलफल भएको हो ।

सो अवसरमा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य डा. भट्टले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने ऐन बनाउन फेरि दबाब दिनुपर्ने, स्वदेश र विदेशमा चिकित्सा शास्त्र पढाउने सुदूर पश्चिमेलीको खोजी गरेर यही पढाउन लगाउने वातावरण बनाउनु पर्ने, शिक्षा मन्त्रालय अन्तर्गतका पुराना अस्पताल र नयाँ अस्पताललाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मातहतमा ल्याउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

अधिकांश भौतिक संरचना बनिसक्दा पनि कसरी मेडिकल कलेज वा विश्वविद्यालय सञ्चालन गर्ने भन्ने बारेमा रहेको अन्योल हटाउन माग गर्दे आन्दोलित लोकराज पाण्डेले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर महत्त्वपूर्ण काम गरेको भए पनि चाँडै कार्यदिशा सहित घोषणा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सो विश्वविद्यालयको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन गर्नु भएको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनाउन पनि बाँकी छ । प्रधानमन्त्रीले पटक पटकका छलफलमा ती काम द्रुत गतिमा हुने आश्वासन दिँदै आउनु भएको छ ।

सो विश्वविद्यालयका संरचना निर्माणका लागि पाँच अर्ब ४१ करोड रुपियाँ खर्च भइसेकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो । अझै साढे दुई अर्ब जति संरचना निर्माणमा खर्च हुने अनुमान छ ।

सुदूरपश्चिम बाहेकका प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् तर सुदूरपश्चिममा एउटै पनि मेडिकल कलेज नहुँदा यहाँका नागरिक राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने वातावरण बनाउन सङ्घर्षरत छन् ।