• ६ जेठ २०८१, आइतबार

रुग्ण आयोजनाको अवस्थाबारे जानकारी माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ९ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सम्झौताअनुसार निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह  गर्नुभएको छ ।  

उहाँले विकासको लक्ष्य हासिल गर्न राज्य र निर्माण व्यवसायीबीचको मिलेमतोमा नभई मिलेर काम गर्नुपर्ने बताउनुभयो । धेरै आयोजनाको अवस्था राम्रो नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठामा असर परेको बताउँदै उहाँले प्रतिष्ठा बचाउनेगरी काम गर्न निर्माण व्यवसायीको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा सम्बन्धित आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सिंहदरबारस्थित भौतिक मन्त्रालयमा सोमबार भएको छलफलमा उहाँले मिलोमतोभन्दा सहकार्य र एकतामा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग मुलुकभरिकै रुग्ण आयोजनाको अवस्था माग गर्नुका साथै रुग्ण बन्नुका कारणबारे जिज्ञासा राख्नुभएको थियो । मन्त्रालयका अनुसार अब हरेक १५-१५ दिनमा सम्बन्धित आयोजना प्रमुखले रुग्ण 

आयोजनाको प्रगति विवरण मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । छलफलमा हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत मोहनाखोला, डोकेबजार बेलौरी, धाइजी, कञ्चनपुर सडक मार्गको जिम्मा पाएको शर्मा÷राजेन्द्र (संयुक्त)ले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यसैगरी, धाँधरखोला पुल र पतरीखोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनभित्र कामलाई गति दिने नत्र ठेक्का तोडिने सहमति भएको थियो । हुलाकी राजमार्गअन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माण जिम्मा पाएको कञ्चनजङ्घा÷बिरुवा÷शिवशक्ति (संयुक्त)ले २५ दिनमा काम सक्ने प्रतिबद्धता गरेको थियो । त्यसैगरी कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

सडक सुधार तथा विकास आयोजनाअन्तर्गत रुग्ण रहेका भेडेटार–राँके सडक निर्माण जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालू आर्थिक वर्ष २०७९÷८० मा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेको थियो ।