• ६ जेठ २०८१, आइतबार

अलपत्र सडक बनाउन माग गर्दै स्थानीयद्वारा धर्ना

blog

अलपत्र सडक निर्माणका लागि सडक डिभिजन कार्यालयको गेटमा आयोजना गरिएको धर्ना कार्यक्रममा सहभागी स्थानीय । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन ८ गते । लामो समयदेखि अलपत्र सडक निर्माणको माग गर्दै स्थानीयवासी तथा सरोकारवाला निकायले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्नासँगै एक घण्टा तालाबन्दी गरेका छन् । घोराही–तुलसीपुर फोर लेन सडकसँगै अलपत्र अन्य सडकहरू समयमै निर्माणको माग गर्दै स्थानीयवासी, उद्योगी, व्यवसायी लगायतले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्ना दिएका हुन् ।  

लामो समय सडक नबनाएर अलपत्र पार्दा नागरिकले अनाहक दुःख पाएको भन्दै जति सक्यो चाँडै निर्माणका लागि दबाब दिन स्थानीयले सडक डिभिजन कार्यालय दाङको मूल गेटमा तालाबन्दीसँगै धर्ना दिएका छन् । सडक निर्माण पूरा नहुँदा ट्राफिक चोक लगायतका विभिन्न खण्डमा खाडलका साथै घुलोका कारण सवारीसाधन तथा स्थानीयलाई आवतजावत गर्न समस्या हुनेगरेको छ । 

कटुवाखोलादेखि तुलसीपुरको चोकसम्मको सडक २०७० देखि निर्माण थालनी भए पनि अहिलेसम्म कामले पूर्णता पाउन सकेको छैन । काम पूरा नगरेर ठेकेदार बेपत्ता हुँदा समेत सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै स्थानीय तथा सरोकारवाला निकायले आज बिहान साढे नौ बजेदेखि १० बजेसम्म कार्यालयको गेटमा तालाबन्दी गरेर धर्ना बसेका थिए ।

सडक निर्माणका लागि कार्यालय प्रमुखलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता गरेपछि बाध्य भएर कार्यालयको गेटमा तालाबन्दीसँगै धर्ना दिनुपरेको सिद्धार्थ गौतमनगर टोल विकास समितिका अध्यक्ष चित्रकान्त आचार्यले बताउनुभयो । 

अलपत्र सडकहरू समयमै निर्माणका लागि दबाब दिने उद्देश्यले गरिएको धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क सिंह बुढाथोकीसहित स्थानीयको सहभागिता रहेको थियो ।