• १३ साउन २०८१, आइतबार

नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन

blog

अमलटारी (नवलपुर), फागुन ८ गते । नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो । 

निकुञ्जभित्र हुने जङ्गल सफारी बन्द गर्ने र खोल्ने समय यकिन नहुनु, सफारीका लागि प्रयोग हुने सवारीको अनुमतिमा एकरूपता नहुनेजस्ता अवस्थाले पश्चिम चितवन र नवलपुर क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । खास गरी निकुञ्ज बन्द र खुला गर्ने समयको टुङ्गो नलाग्दा सफारीका लागि जाने पर्यटक त्यसबाट वञ्चित हुनुपर्ने अवस्थासमेत सिर्जना भएको छ । निकुञ्ज खुल्ने र बन्द हुने समयसम्बन्धी स्थिर नीति नहुँदा पर्यटकलाई सही जानकारी दिन समस्या हुने गरेको टेम्पल टाइगर गु्रप अफ कम्पनीजका अध्यक्ष वसन्त मिश्रले जानकारी दिनुभयो । “यस किसिमको अस्थिर नीतिले यस क्षेत्रको समग्र पर्यटनलाई नै असर पु¥याइरहेको छ,” उहाँले भन्नुभयो ।    

निकुञ्जले पश्चिम क्षेत्रबाट हुने सफारी गत भदौमा बन्द गरेर माघ पहिलो साता मात्र खुलाएको थियो तर सौराहाबाट हुने सफारी भने असोजमै खुला भएको थियो । त्यस्तै पश्चिम क्षेत्रबाट हुने सफारीका लागि एकदमै कम मात्र सवारीसाधन उपलब्ध गराएको मिश्रले जानकारी दिनुभयो । “हाम्रै कुरा गर्दा एउटा मात्र 

सवारीसाधनको अनुमति दिएको छ, उहाँले भन्नुभयो, “आठ÷दस जनाभन्दा बढी पर्यटक भएको अवस्थामा अरूसँग सवारीसाधन सापट माग्नुपर्ने अवस्था छ ।” पश्चिम क्षेत्रका व्यवसायीले निकुञ्ज क्षेत्रको भ्रमणमा उत्सुक पर्यटकलाई जङ्गल सफारीका लागि सवारीसाधन उपलब्ध गराउँदा समान व्यवहार गरिनुपर्ने, होटलको स्तर अनुभव, राजस्व सङ्कलन तथा पर्यटकको सङ्ख्याका आधारमा गाडीको सङ्ख्या तोकिनुपर्ने जनाउँदै आएका छन् । निकुञ्ज खुला गर्ने समयमा सबैतिर एकै पटक खोल्नुपर्ने, साना होटललाई घरबास समितिमार्फत सवारीसाधन राख्न दिनुपर्नेजस्ता व्यवसायीको माग छ । 

पछिल्लो समय निकुञ्जभित्रको नीतिगत व्यवस्था मौखिक रूपमा चल्ने भएकाले त्यसो हुन नहुने पनि व्यवसायीको भनाइ छ । कसैसँग चित्त नबुझेकै भरमा निकुञ्जको बाटो बन्द गरिदिने, महिनौँसम्म खुला नगरिदिने, चित्त बुझेमा चाँडै खुला गरिदिने र थप सुविधा दिनेजस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने पनि व्यवसायीले जनाएका छन् । घरबास कार्यक्रमका लागि चर्चित अमलटारी र पश्चिम चितवन क्षेत्रबाट पनि पछिल्लो समय जङ्गल सफारीका लागि जाने पर्यटकको सङ्ख्या बढेको छ तर सफारीको समय निश्चित नहुने, सवारी पनि कम हुनेजस्ता कारणले धेरै स्तरीय पर्यटक पनि त्यत्तिकै फर्कनु परेको अवस्था छ । अमलटारी क्षेत्रमा अहिले दर्जनौँ घरबास होटल सञ्चालनमा छन् । त्यस्तै नेपालमै निकुञ्ज पर्यटनको सुरुवात गरेको टाइगर टप्स र लामो इतिहास बोकेको टेम्पल टाइगर ग्रिन रिसोर्ट पनि अहिले उक्त क्षेत्रमा सञ्चालन भइरहेको छ । 

क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरे पनि सफारी पर्यटनलाई प्रवद्र्धन गर्न जुनसुकै क्षेत्रमा पनि खुल्ने र बन्द गर्ने समय एउटै हुनुपर्ने बताउनुहुन्छ । पर्यटक सफारीका लागि पनि आउने भएकाले निकुञ्जले पर्यटनमैत्री भएर व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।