• २८ मङ्सिर २०८२, आइतबार

सुझाव दिन कार्यदल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । मुलुकको पूर्वाधार विकासको विद्यमान प्रणालीका विभिन्न पक्षको पुनर्संरचना तथा आवश्यक सुधार गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेको छ ।

मुलुकको भौतिक पूर्वाधार विकासको अल्पकालीन तथा दीर्घकालीन मार्गचित्र तयार पार्न स्पष्ट योजनासहितको सुझाव दिन गठन गरिएको सो कार्यदलले छ महिनाभित्र सरकारलाई सुझाव पेस गर्ने छ । पूर्वाधार र प्रशासनिक विज्ञहरू सम्मिलित सो कार्यदलको संयोजकमा पूर्वाधारविज्ञ प्रा.डा. सूर्यराज आचार्य रहनुभएको छ । कार्यदलमा सुनीलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कोमलराज पाण्डे, राजेन्द्रराज शर्मा, वीरेन्द्र पाण्डे र रोजी प्रधानाङ्ग सदस्य रहनुभएको छ । 

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य–सचिव हुनुहुन्छ । मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा भौतिक पूर्वाधार क्षेत्रको भूमिका तथा यससम्बन्धी नीति, योजना र व्यवस्थापनका मुद्दालाई पुनः परिभाषित गर्दै सुझाव पेस गरिने कार्यदलका संंयोजक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि कार्यदलले अबको एक महिनाभित्र र दीर्घकालीन योजना र सुधारबारे छ महिनाभित्र सरकारलाई सुझाव पेस गर्नेछ ।”

त्यसैगरी विकास बजेट खर्च नहुने, निर्धारितभन्दा कैयौँ गुणा बढी समयमा पनि आयोजना सम्पन्न नहुने, आयोजना सम्पन्न भए पनि त्यसको औचित्य नहुने, आर्थिक रूपले अनुत्पादक बन्दै जानेलगायत पूर्वाधारको विकासको क्षेत्रमा देखिएका समस्याको पहिचान तथा सोको निराकरणबारे कार्यदलले सुझाव दिने संयोजक आचार्यको भनाइ छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा मुलुकको समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल गठन गरिसकेको छ ।

समन्वय आवश्यक 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समग्र विकास र समृद्धिका लागि राज्यका अङ्ग र तहहरूबीच समन्वयात्मक भूमिका र सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । वर्तमान सरकार मुलुकको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो । सो अवसरमा भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले मुलुकको पूर्वाधार विकासमा मन्त्रालयले गरिरहेका काम कारबाहीबारे जानकारी गराउनुभएको थियो ।

विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । “पहिला त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड छ ।”

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कैयौँ सुधार थालिएको बताउनुभयो ।