उता छिमेकी मुलुक भारतमा अङ्ग्रेजहरूको जगजगी थियो, यता हाम्रोमा राणा शासन थियो । शासन भन्नु के भन्नु, शासनको नाममा जनतामाथि अन्याय थियो, अत्याचार थियो; अर्को शब्दमा भन्नुपर्दा मुलुकमा कुशासन थियो । स्वभावतः त्यतिखेरका जनता नागरिक होइन रैती थिए । तिनमा कुनै पनि किसिमको अधिकार निहित थिएन । सामान्यभन्दा सामान्य अधिकार मात्रै खोज्नु भनेको पनि विद्रोह गरेको ठहरिन्थ्यो । विद्रोह गरेको ठहरमा कतिले दुःख पाए, कतिलाई निर्मम यातना दिइयो; त्यसभन्दा पनि अघि बढेर हेर्ने हो भने कतिले मृत्युसमेत भोगे । तिनको लेखाजोखा सम्भवतः इतिहासका कुनै पृष्ठमा पनि नभेटिएलान् । तर जे–जति ऐतिहासिक दस्ताबेजमा तथ्याङ्क भेटिन्छन् तिनलाई अध्ययन गरेर यत्तिचाहिँ भन्न सकिन्छ कि जब–जब कुनै पनि शासन सत्तामा अन्याय–अत्याचारले सीमा नाघ्छ त्यसपछि त्यसले आफ्नो समाप्तिको बाटो आफैँ खन्दै जाँदो रहेछ ।
स्पष्टै भन्न सकिन्छ– राणा शासनको त्यो सीमारेखा २०९७ सालमा प्रस्ट कोरिएको हो । त्यसो त, त्यसभन्दा अघि नै त्यसको खाका कोरिसकिएको थियो । सन्दर्भ हो, एउटा सनसनीपूर्ण समाचारको । समाचार थियो एउटा भाषणको, जुन भाषण राजधानीस्थित इन्द्रचोकको देवलबाट गरिएको थियो । भाषण गर्नुभएको थियो गङ्गालालले । भाषणमा उहाँले उपस्थित भेलाप्रति क्रुद्ध भएर भन्नुभएको थियो, ‘म के भनेर सम्बोधन गरूँ तपाईंहरूलाई ? मानिस भनूँ भने स्वभाव पशुको छ, मालिकले लात्ती दियो भने पर–पर भाग्नुहुन्छ, अनि फेरि एक टुक्रा रोटी दिनासाथ लुरुलुरु आउनुहुन्छ । तर फेरि पशु भन्नु कसरी ? दुई खुट्टा छन् तपाईंका ।... यत्रो झन्डै सय वर्षदेखि राणाहरूले शोषण र दमन गरिराखेका छन् ।’
स्मरणीय छ, सोही भाषण–समारोहका मूल व्यक्ति हुनुहुन्थ्यो– शुक्रराज शास्त्री । त्यहाँ शास्त्रीले गीता–प्रवचन दिनुभएको थियो । तर जब गङ्गाललालले बोल्नु भयो, तत्कालै राणाका बफदारहरूले उहाँहरूलाई पक्रन मञ्चमा हमला गरे । शास्त्रीले ‘गीता प्रवचन गर्नु अपराध हो र ?’ भन्दै त्यहीँ प्रतिरोध गर्दै बस्न लाग्नु भयो । तर त्यहाँको स्थिति असामान्य भइसकेकाले शास्त्री र गङ्गालाल दुवैलाई त्यहाँबाट भगाइयो । तथापि भोलिपल्टै शुक्रराजलाई उहाँकै निवासबाट पक्राउ गरियो भने गङ्गालाल भने भूमिगत भइसक्नु भएको थियो ।
गणेशमान सिंहले उपर्युक्त घटनालाई ‘शान्त समुद्रमा खसेको त्यो पहिलो ढुङ्गा थियो’ भन्नु भयो । हुन पनि त्यो ढुङ्गाको तरङ्ग सहरभरि मात्रै होइन, पहाड–मधेश नाघेर कलकत्तामा समेत पुगेको थियो । कलकत्तामा पढिरहनु भएका गणेशमान तत्काल नेपाल फर्किनु भयो र गङ्गालालको सामु प्रस्ताव राख्नु भयो, ‘मिल्यो भने म यहाँ एउटा राजनीतिक पार्टी खोलूँ भनेर आएको हुँ ।’
गङ्गालाल उमेरले गणेशमान सिंहभन्दा सानो हुनुहुन्थ्यो, त्यसैले सिंहलाई उहाँ ‘दाइ’ सम्बोधन गर्नुहुन्थ्यो । तर तर्कको हिसाबले उहाँ गणेशमानभन्दा सशक्त हुनुहुन्थ्यो, उहाँले उक्त प्रस्तावप्रति प्रतिक्रिया जनाउँदै अलिक व्यङ्ग्यात्मक पारामा भन्नु भयो, ‘राजनीतिक पार्टी खोल्नु भनेको सडकमा नाङ्लो पसल खोल्नु जस्तो हो र ?’ गणेशमानले यो भनाइको अर्थ खुट्याउन पाउँदा नपाउँदै गङ्गालालले आफ्नो धारणा राख्नुभयो ‘त्यसका लागि सङ्गठन चाहिन्छ, धेरै मानिस चाहिन्छ । त्यति मात्रै होइन स्रोत, साधन र सबैभन्दा बढी त हिम्मत चाहिन्छ । यस्तो केही अधिकार नभएको मुलुकमा पार्टी खोल्न र चलाउन गाह्रो छ । त्यसैले यसका लागि गुप्त रूपले काम गर्नुपर्छ । केवल पार्टी खोलेर केही अर्थ हुँदैन ।’ थप, गङ्गालालले गणेशमानलाई जिस्क्याए जस्तो गर्दै तर गम्भीर सल्लाह दिनुभयो, ‘तपाईंलाई त्यस्तो रहर नै छ भने प्रजापरिषद् खुलेको छ, त्यसले राणाविरोधी पर्चाहरू पनि निकालिरहन्छ । बरु त्यसकै सदस्य बन्नुुस् न !’
तथापि, छोटो बहसपश्चात् आपसी सल्लाहमा उहाँहरू दुवैले प्रजापरिषद्को सदस्य बन्ने निधो गर्नु भयो । निधो त गर्नु भयो तर अस्तित्वमा नदेखिएको प्रजापरिषद्लाई भेट्टाउन सहज थिएन ।
यसैबीच घटनामा रोचक मोड आयो । गणेशमान सिंहले एक दिन बाटोमा हिँड्दाहिँड्दै गजबको दृश्य देख्नु भयो । बाटैको एउटा घरबाहिरै, हट्टाकट्टा एक व्यक्तिले आफ्नो शरीरमा तेल घसिरहेका थिए । गणेशमान त्यसतर्फ आकर्षित हुनु भयो । त्यसरी आकर्षित हुनुको कारण के थियो भने उहाँ स्वयं कलकत्तामा कसरत गर्नु हुन्थ्यो तर काठमाडौँ आएपछि यो कसरत छुटेको थियो । आकर्षणले उहाँ ती बलिया मान्छेको छेउ पुग्नु भयो । दुवैबीच एकछिनको भलाकुसारीपछि गणेशमानले पनि भोलिपल्टदेखि त्यहीँ नै उनीसँगै कसरत सुरु गर्ने हुनु भयो । यसै क्रममा त्यहीँ बक्सिङ पनि खेल्न थाल्नु भयो । एक पटक, बक्सिङ खेल्दाखेल्दै गणेशमानले त्यो पहलमानलाई नाकमा हिर्काइरहनु भयो, अझ मौका पर्नासाथ उनको घुच्चुकमा हिर्काउनु भयो । यस पटक पहलमानलाई पनि क्रोध जागेछ, गणेशमानलाई उनले एक मुक्का लगाए । मुक्काको असर कस्तो थियो भने गणेशमान बेहोस नै भए । ब्युँझिएपछि, त्यसै दिनदेखि उहाँ पहलमानको चेला बन्नु भयो । गणेशमानलाई चेला बनाउने गुरु हुनु हुन्थ्यो– धर्मभक्त माथेमा । धर्मभक्त बङ्गालमा बक्सिङका च्याम्पियन बन्नु भएको थियो र त्यतिखेर नेपालमा राणाजीका प्रशिक्षक हुनुहुन्थ्यो ।
गणेशमानले धर्मभक्तसँग प्रजापरिषद्का कुरा उप्काइरहनु हुन्थ्यो । यस्तोमा एक दिन धर्मभक्तले सोध्नु भयो, ‘आजभोलि यता पर्चा छरिएको छ रे हो ?’ साथै उहाँले सल्लाह पनि दिनु भयो, ‘पर्चाहरू बाटोमा जथाभावी नपढ्नू, झन् मेरोमा त लिएरै आउँदै नआउनू ! सीआईडीहरू छ्याप्छ्याप्ती छन् ।’ तर गणेशमानलाई धर्मभक्तका यस्ता कुरा मन पर्दैनथ्यो । मनमनै उहाँलाई अत्यन्त कायर सम्झनु हुन्थ्यो । यसैबीच कुरैकुरामा गङ्गालालसँग भेट्ने मनसाय राख्नु भयो धर्मभक्तले । नभन्दै, एक दिन स्वयम्भूको एकान्त जङ्गलमा तीनै जनाको भेट हुने तारतम्य मिल्यो । त्यही भेटमा गणेशमान र गङ्गालालले एकै स्वरमा आफूहरूले ‘मृगमरिचिका’ (प्रजापरिषद्) को खोजी गरिराखेका कुरा बताउनु भयो । अचानकसँग धर्मभक्तले भन्नु भयो, ‘प्रजापरिषद्सँग भेट्ने तरिका बताइदिएँ भने तपाईंहरू साँच्चै त्यसमा लाग्ने हो ?’
यस्तो कुरा सुनेपछि धर्मभक्तलाई गणेशमानले फ्याट्ट भनिदिनु भयो, ‘कता तपाईं, कता प्रजापरिषद् !’
रात परिसकेको समय थियो । अन्ततः धर्मभक्तले बडो गहिरो रहस्य खोल्नु भयो, ‘म नै हुँ प्रजापरिषद्को एक सदस्य ।’ अनि उहाँले एउटा कागज दिँदै भन्नु भयो, ‘प्रजापरिषद्को अब निस्कने पर्चा यही हो ।’ गङ्गालाल र गणेशमानका अनुहारमा आठौँ आश्चर्य व्याप्त थियो । उहाँहरूले अन्धकारमै त्यो पर्चा लिनु भयो । लगत्तै, विजयश्वरी मन्दिरमा गएर धर्मभक्तको उपस्थितिमा प्रजापरिषद्को परम्पराअनुरूप गङ्गालाल र गणेशमानले शपथ लिनु भयो– ‘आजदेखि हामी जीउ–ज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं । कदाचित्, त्यो प्रक्रियामा पक्राउ परियो भने बरु मर्न तयार हुन्छौँ तर सास रहुञ्जेल कसैलाई धोखा दिँदैनौँ ।’
यसरी, गङ्गालाल र गणेशमानले लिएको प्रजापरिषद्–सदस्यताको सङ्कल्प नै राणा शासन ढालेर प्रजातन्त्र स्थापना गर्ने आधारबिन्दु बनेको इतिहासले देखाउँछ ।