शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जिउँदो चौँरीको शरीरबाट
आलो रगत झिकेर
मस्त पिइरहेको मुस्ताङे युवक
जङ्गलमा मान्छेको दूषित रगत पिएर घुरिरहेको
बाघमा कुनै अन्तर छैन ।
मान्छे हुनुमा र बाघ हुनुमा
रगत पिउन नपाउँदा पनि आफ्नो धर्म छोडेर
बाघले घाँस खाँदैन
भोकले भत्किँदा पनि बाघ
बरु आफ्नै मुखको घाउबाट बगेको रगतको
स्वादमा आनन्दले रमाउँछ ।
तर कदापि घाँस खाँदैन ।
तर मान्छेले चौरासी व्यञ्जन पाउँदा पनि
चौँरीको आलो रगत तनतनी पिउन अभ्यस्त छ ।
त्यसैले बिस्तारै मान्छेको विकृत अनुहारमा बाघ
बाँचिरहेछ अचेल
बाघको हिंस्रक अनुहारमा भने
मान्छे हाँसिरहेछ अचेल ।