प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रिय सहमतिको कुरा पछिल्लो समयमा निकै जोडतोडका साथ उठाउनुभएको छ । उहाँले त राष्ट्रपतिमा समेत राष्ट्रिय सहमति कायम हुने कुरालाई पटक पटक उठाएर राजनीतिक दलको मात्र होइन, नागरिकको ध्यानसमेत खिच्नुभएको छ । राष्ट्रिय सहमतिलाई नेपाली राजनीतिमा बीपी कोइरालाले स्थापित गराउनुभएको भए पनि यसको सान्दर्भिकता र महत्त्व सधैँ रहने रहेछ भन्ने कुरा धेरैले बोध गरेको विषय हो । यसको अपरिहार्यता अझैसम्म छ । घटेको छैन ।
वि. सं. २००७ फागुन ७ गतेले जहानियाँ राणा शासन अन्त्य भएको दिनको स्मरण गराउँछ । यही दिन १०४ वर्षे राणा शासनको जग भत्केर प्रजातन्त्रको स्थापना भएको थियो । खासमा कांग्रेसले स्वदेश तथा विदेशमा रहेर राणा शासनविरुद्ध आन्दोलनको विगुल फुकेको थियो । राणा शासन अन्त्य गरी जनतालाई अधिकार सम्पन्न गराउन नेपाल प्रजा परिषद्ले खेलेको गरिमामय भूमिकाको इतिहास अलग्गै छ ।
कांग्रेस नेता बीपी कोइरालाले विदेशी भूमिमा रहेर तथा र गणेशमान सिंहले स्वदेशमा रहेर राणा शासनको विरुद्धमा लामो सङ्घर्ष गरे । शिखर व्यक्तित्व बीपीले देशमा प्रजातन्त्रको बहालीका लागि जीवन अर्पण गरे । पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरको दरबारमा गएर गरिब जनताले लगाउने लुगा उपहार दिँदा बीपीको बाल मस्तिष्कमा प्रजातन्त्रको बीज अङ्कुरित भएको थियो । परिणाम अङ्गेजलाई धपाउन भारत छोडो आन्दोलनमा सक्रिय हुँदा उनी तीन महिना भारतका कारागारमा थुनिए । कांगे्रस र यसको नीति सिद्धान्त बीपीको मस्तिष्कको उपज हो ।
२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा देशभरका १०९ वटा स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल ग¥यो । गोरखा परिषद्ले १९ र नेपाल कम्युनिस्ट पार्टीले चार स्थानमा विजय हासिल गरेको थियो । वि.सं. २०१६ मा बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि बीपीले देशको भलाइ र गरिब नेपाली जनताको जीवनस्तर उकास्नका लागि विकाससम्बन्धी जागरण अभियान नै ल्याए । देशभरका सबै जातजाति, महिलालाई समेट्ने गरी मन्त्रिपरिषद्को गठन गरेकोले समावेशी समाजको अवधारणा बीपीको कार्यकालमा सुरु भएको हो । त्यसबेला बीपी नेतृत्वको सरकारमा प्रेमराज आङदेङ्वे, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, शिवराज पन्त, द्वारिकादेवी ठकुरानी, रामनारायण मिश्रलगायतका अटाएका थिए । यो समावेशिताको प्रमुख नमुना हो । बीपी व्यक्तिपरक नभएर विचारपरक थिए ।
सिंहदरबारको भित्तामा किसानले हलो जोत्दै गरेको तस्बिर राख्न लगाउनु, क्रान्तिकारी भूमिसुधार लागू गरी जसको जोत उसैको पोत सिद्धान्त अपनाउनुलाई बीपीको नवीन विचार अवधारणा मान्न सकिन्छ । छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्ने भएका कारण दुई ठूला छिमेकी राष्ट्र भारत र चीनका सरकार प्रमुख बीपीसँग नजिक भएर मेलमिलापको नीति अपनाउँथे । निडर, कूटनीतिक चातुर्यता र राष्ट्रियताका विषयमा उनले दक्षिण एसियाली मुलुकलगायत इजरायल, इराक, इरान, आदि मध्यपूर्वका मुलुक र थाइल्यान्ड, बर्मा, इन्डोनेसिया, फिलिपिन्स आदि जस्ता पूर्वी एसियाली मुलुकमा समेत चर्चा कमाएका थिए । जनताका छोरा भएर पनि बीपीको लोकप्रियता तत्कालीन राजा महेन्द्रको भन्दामाथि थियो । व्यक्तिगत टकरावका कारण १८ महिनामै बीपी नेतृत्वको सरकार महेन्द्रले २०१७ साल पुस १ गते भङ्ग गरे । राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । बीपीलगायतका नेतालाई सुन्दरीजलमा थुनियो । आठ आठ वर्ष कारावासमा जीवन बिताएका बीपीलाई तत्कालीन पञ्चायती शासकले २०२५ देखि २०३३ सालसम्म भारतमा निर्वासित गरायो ।
सन् १९७१ मा स्वतन्त्र भएको बङ्गलादेश भारतको यस कार्यबाट सशङ्कित थियो । पूर्वी एसियाली मुलुक र बर्मामा पनि अस्थिर राजनीति थियो । यिनै विविध घटनाक्रमको सूक्ष्म अध्ययन बीपीले प्रवासमा रहेर गरिरहेका थिए । आफू घाँटीको क्यान्सरले रुग्ण थिए तर उनलाई देशको चिन्ता थियो । राष्ट्र र राजसंस्था बचाउनुपर्छ भन्ने दूरदृष्टिका साथ बीपीले मेलमिलापको नीति लिएर स्वदेश फर्कने निर्णय गरेँ । उनीमाथि राजकाजलगायत धेरै मुद्दा थियो । एकातिर स्वदेशमा फर्कन नदिने, फर्किहाले उनलाई फाँसी दिनेसम्मका जोखिम थियो । तर त्यसलाई कुनै महìव नदिएर बीपी नेपाल फर्के ।
वि.सं २०३३ पुस १६ गते बीपी मेलमिलापको नीति लिएर भारतको पटनाबाट काठमाडौँ आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन पञ्चले बीपी विरोधी उग्र नारा लगाए । त्यहाँबाट उनलाई केही घण्टा प्रहरी नियन्त्रणमा राखियो र त्यसपछि सुन्दरीजलमा थुनियो । दुई वर्षसम्म बीपीलाई सुन्दरीजलमा राखियो । एकातिर राष्ट्रको चिन्ता अर्कोतिर आफ्नो बिगँ्रदो स्वास्थ्य अवस्था थियो । तर पनि बीपीमा संवैधानिक राजतन्त्र देशमा कायम राख्नुपर्छ भन्ने इमानदारिता कायम थियो । वि.सं. २०३४ जेठमा तत्कालीन राजा वीरेन्द्रले बीपीलाई भेट्ने अनुमति दिए । देशको अवस्थाका बारेमा बीपीले राजालाई जानकारी गराए । नजरबन्दको अवस्थामा पनि देशको राजनीतिक गतिविधि उनले बुझिरहेका थिए । राजा वीरेन्द्र बीपीलाई उपचारका लागि अमेरिका पठाउन मञ्जुर भए । यसो हुनुको प्रमुख कारण बीपी अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनका सदस्य भएर हो । जर्मनीका तत्कालीन चान्सलर विल्ली ब्राण्ट सो सङ्गठनका अध्यक्ष थिए । बीपीका भरपर्दा साथी थिए । बीपीले राष्ट्रलाई खतराबाट जोगाउन र देशमा प्रजातन्त्र पुनस्र्थापनाका लागि राजासँग मेरो घाँटी जोडिएको छ भने तर यो भनाइको राजनीतिक अर्थ धेरैले बुझ्न सकेनन् । केहीले त बीपी दरबारिया शक्ति पो रहेछन् भनी आरोप लगाए । करिब ५÷६ महिना अमेरिका बसेर उनले घाँटीको क्यान्सरको उपचार त गरे तर ठिक भएन । अन्ततः २०३९ साउन ६ गते क्यान्सर रोगका कारण बीपीको निधन भयो ।
कांग्रेसले मात्र होइन, लोकतन्त्रमा विश्वास राख्ने सबैले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता बुझ्नु यति बेला जरुरी देखिन्छ । मेलमिलापको नीतिको चर्चा गर्न कुनै दिन या दिवस कुनै पर्दैन । नेपाली राजनीतिक वृत्तमा अहिले पनि राजनीतिक सङ्कट देखा पर्न थालेको प्रतीत हुन्छ । २०३७ सालको जनमत सङ्ग्रह २०४२ को सत्याग्रह २०४६ को सालको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को लोकतन्त्रप्राप्तिको आन्दोलनसम्म आइपुग्दा जनताका विविध माग अझै पूरा हुन सकेका छैनन् । २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भयो । वि.सं. २०७२ यता बाम गठबन्धन सरकार बन्यो । पुनः कांग्रेस वाम गठबन्धन सरकार निर्माण भयो । इतिहासमा रुख चिह्नबाहेक अन्त छाप नलगाएका कार्यकर्ताले गठबन्धनका कारण हसिया हथौडा र कलम चिह्नमा छाप लगाए । वामपन्थीले रुखमा छाप लगाए । स्थानीय, प्रदेश र सङ्घीय चुनाव सम्पन्न भयो । हाल नेकपा एमाले र नेकपा माओवादीलगायतका सात पार्टीको सरकार छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेसले संसद्मा ठूलो सङ्ख्या भएर पनि सरकारको नेतृृत्व गर्न सकेन । बीपीको पार्टी पछिल्लो अवस्थामा कताकता रुमल्लिएको जस्तो देखिँदैछ । मेलमिलापको अर्थ राजनीतिक नेतृत्वबीच गठबन्धन गर्नु पनि हो यो गठबन्धन सरकार सञ्चालनमा मात्र नभएर फागुनमा सम्पन्न गरिने राष्ट्रपति, उपराष्ट्रपति पदमा सहमतिको उम्मेदवारलाई विजयी गराएर अघि बढ्नु पनि हो ।
खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय सहमतिको कुरा पछिल्लो समयमा निकै जोडतोडका साथ उठाउनुभएको छ । उहाँले त राष्ट्रपतिमा समेत राष्ट्रिय सहमति कायम हुने कुरालाई पटक पटक उठाएर राजनीतिक दलका मात्र होइन नागरिकको ध्यानसमेत खिच्नुभएको छ । राष्ट्रिय सहमतिलाई नेपाली राजनीतिमा बीपी कोइरालाले स्थापित गराउनुभएको भए पनि यसको सान्दर्भिकता महìव सधैँ रहने रहेछ भन्ने कुरा धेरैले बोध गरेको विषय हो । यसको अपरिहार्यता अझैसम्म छ । घटेको छैन । बीपीले हिजो राष्ट्रिय सहमतिलाई राजासित जोडेर व्याख्या गर्नुभएको थियो आज नेताहरूले दलबीचको सहमतिका जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजनीतिक वृत्त फेरि सहमतिकै चर्चा परिचर्चा नजिक घुमिरहने देखिन्छ ।