• १३ असोज २०८१, आइतबार

अवैध हुण्डीको कारोबारीमाथि सूक्ष्म अनुसन्धान शुरु

blog

सचिन पोख्रेल

इटहरी, फागुन ४ गते । अवैध हुण्डीको कारोबारको अभियोगमा पक्राउ परेका मोरङ जिल्लको रंगेली नगरपालिका वडा नम्बर ४ चोप्राहा निबासी दुइजनामाथि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले सूक्ष्म अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

विगत ४० दिनको अवधिमा अवैध हुण्डी कारोबारमार्फत विभिन्न व्यक्तिका नाममा सात करोड १९ लाख ६८ हजार ६५० रुपयाँ जम्मा गरेको अभियोगमा पक्राउ परेका रंगेलीका ४१ वर्षका भवानी शंकर साह र १९ वर्षका सन्तोषकुमार पासवानमाथि अनुसन्धान सुरु गरिएको हो । उनीहरुको साथबाट ४ लाख १२ हजार ८५५ रुपयाँ नगदसमेत बरामद भएको छ । 

सो कार्यालयका प्रमुख खेमराज ओझाका अनुसार करोडौ रुपियाँ बराबरको अवैध हुण्डी कारोबार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी राजश्व कार्यालयलाई थप अनुसन्धान र कार्वाहीका लागि पठाए पछि कार्यालयले सूक्ष्म अनुसन्धान र छानबिन थालेको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले कुमारी बैंक, सेन्चुरी बैंक, प्रभु बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, मुक्तिनाथ बैंक र सिटिजन बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुका नाममा सात करोडभन्दा बढी रकम जम्मा गरेको पाइएको छ ।

उनीहरुले सो बराबरको अवैध कारोबार विगत ४० दिनको अवधिमा गरेको पाइएको कार्यालय प्रमुख खोझाको भनाइ छ । 

पक्राउ परेको व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर बिहिबारदेखि बयान लिने र सूक्ष्म अनुसन्धान तथा छानबिनको कार्य शुरु गरिएको छ ।