• ५ जेठ २०८१, शनिबार

मोलुङ हाइड्रोपावरको आइपिओ खुल्यो

blog

शेरबहादुर राई
ओखलढुङ्गा, माघ ४ गते । 
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरेर सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको जनाएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपियाँ अङ्कित मूल्यमा आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपियाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपियाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो । सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ भने दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीको आइपिओमा छिटोमा १० फागुन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १८ फागुनसम्म थप हुनेछ । उक्त आइपिओमा न्यूनतम १० कित्ताका र अधिकतम आठ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको कम्पनीको आइपिओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूका साथै सिडिएसीको मेरो सेयर तथा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ । कम्पनीले ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा ७ मेगावाटको क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निमार्ण गरी २०७४ चैत १२ देखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत एक अर्ब ४५ करोड रुपियाँ रहेको छ ।