• १३ साउन २०८१, आइतबार

महिला केन्द्रित दृष्टिकोणद टेनेन्ट

blog

काठमाडौँ, फागुन ४ गते । ‘द टेनेन्ट’ अर्थात् भाडामा बस्ने महिला एउटा स्वतन्त्र र आधुनिक केटीको कथा हो। ती केटी भाडाको घरमा बस्छिन्। उनलाई कसैको डर त्रास छैन। उनी स्वतन्त्र रूपमा आफ्नै तालमा बाँच्न रुचाउँछिन्। छरछिमेकले भने उनको बारेमा थाहा नै नपाई उनको चरित्रमाथि अनेक लाञ्छना लगाउन थाल्छन्। चलचित्रले महिलालाई हेर्ने समाजको पाखण्डलाई उजागर गरेको छ। 

बलिउड अभिनेत्री शमिता शेट्टी लामो समयपछि चलचित्र ‘द टेनेन्ट’बाट फेरि बलिउडमा प्रवेश गरेकी छन्। चलचित्रमा शमिता एउटा आत्मनिर्भर र बलियो महिला मीरा उर्फ ​​सोनियाको भूमिकामा देखिएकी छन्। शमितासँगै चलचित्रमा शिवा चड्डा, दिव्या जगदाले, अतुल श्रीवास्तव र स्वानन्द किरकिरेको मुख्य भूमिका छ। चर्चित कलाकार अक्षर सिंह पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिएकी छन्। चलचित्रले महिलाप्रतिको पाखण्डलाई कडा रूपले देखाएको छ। चलचित्र मोडल मीरा भाडामा बस्दा उनीमाथि हुने विभिन्न खालका घटनामाथि आधारित कथा हो। एक दिन उनी मध्यमवर्गीय समाजको टोलमा भाडाको फ्ल्याटमा बस्न आउँछिन्। मीरा मोडल तथा आजको युगकी केटी हुनाले उनको जीवनशैली पनि त्यस्तै हुन्छ। आधुनिक लुगा लगाएर पार्टी गर्ने, रातदिन नभनी घुम्न जाने उनको स्वभाव हुन्छ। यही कारण पनि उनी समाजको नजरमा आउँछिन्। त्यही टोलमा बस्ने १३ वर्षका बालक भरत (रुद्राक्ष जैसवाल) उनीप्रति आकर्षित हुन्छन्। उनी बिस्तारै मीरासँग मित्रता गाँस्छन्। उनी सधैँ मीरासँग समय बिताउने बहाना खोज्छन्।

एक दिन मीराले आफ्ना साथीहरूलाई डिनरको निम्तो दिन्छिन्। डिनरमा भरतलाई पनि बोलाइएको हुन्छ। त्यो रात भरतले मीराका बारेमा धेरै रहस्यमय कुरा थाहा पाउँछन्– उनको एक प्रेमी छ, उनको वास्तविक नाम मीरा होइन, सोनिया हो। त्यसपछि उनले इन्टरनेटमा खोज्दा मीराका बारेमा एउटा चकित पार्ने खालको जानकारी पत्ता लगाउँछन्। मीराको त्यो तीतो सत्य थाहा पाएपछि भरत के गर्छन् ? यो सत्य त्यहाँको समाजले थाहा पाएपछि के होला ? यो नै ‘द टेनेन्ट’को कथा हो। चलचित्रमा शमिता शेट्टीको अभिनय निकै प्रशंसनीय छ। आत्मनिर्भर, आत्मविश्वासी र स्पष्ट वक्ता महिलाको भूमिकामा देखिएकी उनका भूमिकाहरूले कुनै न कुनै कारण एक्लै बस्ने महिलाहरूको प्रतिनिधित्व गर्छ। कसैको स्वतन्त्रता र स्वाधीनताको अर्थ जाँचबिना व्यक्त गरिन्छ। भरतको भूमिकामा रुद्राक्ष निर्दोष देखिएका छन्। चलचित्रमा उनको भावना, आकर्षण र बुद्धिलाई राम्रोसँग चित्रण गरिएको छ। सहायक भूमिकामा अतुल श्रीवास्तव, दिव्या जगदाले, शिवा चड्डा, स्वानन्द किरकिरेको अभिनय उल्लेखनीय छ।

चलचित्रको विशेष आकर्षण भनेकै सङ्गीत हो; जुन कथासँग मेल खान्छ। चलचित्रमा अङ्ग्रेजीमा पनि धेरै संवाद छन्। चलचित्रले आजको युगका मानिसको बुझाइलाई झल्काउँछ। चलचित्रमा लेखक तथा निर्देशकका रूपमा सुश्रुत जैनको सबै कुरा वास्तविक देखिन्छ। उनले चलचित्रको कथालाई निकै मीठो ढङ्गले प्रस्तुत गरेका छन्।