प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ। युवक–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन। केही नेपाली हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्णाष्टमी भएको तर्कमा जोड दिन्छन्। त्यसैले आयातित विदेशी संस्कृतिअनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन्। भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ। भ्यालेन्टाइन डेलाई जसरी उल्लासपूर्ण तरिकाले मनाउने गरिए पनि यसको महत्वबारे पछिल्लो पुस्ता कम जानकार छन् भ्यालेन्टाइन के हो र कसरी सुरु भयो त यसको प्रचलन ?
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहासलाई फर्केर हेर्दा रोमन राजा क्लाउडियसले नारीसँगको सम्बन्धका कारण आफ्ना सैनिकबाट गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे। राजा क्लाउडियसको आदेशलाई एक जना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए अर्थात् राजाको आज्ञाविरुद्ध सर्वसाधारण जनतालगायत सैनिक जवानलाई आआफ्नो प्रेमी प्रेमिकासँग सार्वजनिक स्थलमा विवाह गराइदिए। आफ्नो आदेशको उल्लङ्घन गरेको कारण राजा क्लाउडियसलाई सह्य भएन र उक्त व्यक्ति (भ्यालेन्टाइन) लाई मृत्युदण्डको सजाय दिए।
कथन यस्तो छः इसापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरूको विवाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई फेब्रुअरी १ तारिखका दिन मृत्युदण्डको सजाय सुनाइयो र फेब्रुअरी १४ तारिखको दिन उनलाई फाँसीमा झुन्डयाएर मृत्युदण्ड दिइयो। सोही समयपश्चात् रोमका हजारौँ सैनिकलगायत अन्य सर्वसाधारणले समेत प्र्रेमका पुजारी ‘भ्यालेन्टाइन’ को नाममा १४ फ्रेबु्रअरीलाई ‘भ्यालेन्टाइन डे’ को रूपमा मनाउन थाले।
त्यसै समयदेखि भ्यालेन्टाइनको सम्झनामा प्रेमी–प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने थालेको यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाउनुका साथै नेपाली युवामा समेत जरो गाडीसकेको छ। देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ। प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान–प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ। युरोपका कतिपय देशमा यसदिन सार्वजनिक बिदा दिने चलन छ भने कतिपय मुलुकमा सोही दिन विवाह गर्ने चलन पनि छ।
सर्च इन्जिन गुगल खोजमा ‘भ्यालेन्टाइन डे’ सर्च गर्दा एक अर्ब ४३ करोडभन्दा बढी नतिजा देखाउँछ भने लाखौँ पेजले मायाको परिभाषा दिएका छन्। प्रेमको परिभाषा जति गरे पनि अधुरो र अपूरो नै हुन्छ। अङ्ग्रेजी साहित्यमा पीएचडी गर्दै गरेकी श्रीमती सुमित्रा घिमिरे भन्छिन्, मायालाई परिभाषामा बाँध्नै सकिँदैन। आजभोलिका युवा वर्गले मायाप्रेमलाई जुन फ्रेमबाट हेरिन्छ, त्यहीअनुसारको अनुभूति हुन्छ। अहिलेको युवा जमातले भौतिक नजरले हेर्ने गर्दछन् र, त्यसैले विभिन्न उपहारमा साट्छ माया। उनी अगाडि थप्छिन्, त्यसैको परिणाम हुन सक्छ, प्रेम केवल क्षणिकका लागि फेसनजस्तै भएको छ।
नायक कृष्ण मल्ल र नायिका शर्मिला मल्ललाई भ्यालेन्टाइन र आफ्नो विवाह उत्सव एकै समयमा पर्ने हुँदा बढी रमाइलो लाग्ने जनाउँछन्। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत पूजा पौडेलको विचारमा भ्यालेन्टाइन डेले नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको ठाडो आरोप छ। उनका अनुसार यस दिनको प्रभावले हाम्रो श्रीपञ्चमीको आकर्षणलाई कम र ओझेलमा पारेको अनुभव व्यक्त गर्छन्। त्यस्तै धारणा अधिवक्ता सुशीला पाण्डेको पनि छ, उनको विचारमा भ्यालेन्टाइन डे बकवास, नौटङ्की र पश्चिमी संस्कृतिको नक्कलबाहेक केही नभएको बताउनुहुन्छ। अहिलेका युवक–युवतीमा हाम्रो चाडपर्वप्रति त्यति चासो र चर्चा छैन तर भ्यालेन्टाइन डे र अन्य विदेशी चाडपर्वका बारेमा विज्ञ छन्, हामी आफ्ना थुप्रै मौलिक संस्कृतिलाई जोगाउनुपर्छ यसको जिम्मा आजका युवा पुस्ताले लिनुपर्छ।
भ्यालेन्टाइन डेमा प्रेम–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाफको फूल आदान–प्रदान हुन्छ। यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्छ। नेपालमा पनि यस दिन हजारौँ गुलाफको फूल बिक्री हुने गर्छ। यसैका लागि हरेक वर्षमा जस्तै यो वर्ष पनि भारतबाट ल्याइने भएको छ। गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी गराए। उनकाअनुसार यो वर्षको भ्यालेन्टाइन डेमा गुलाफ फूलका लागि दुई लाख ६० हजार ‘स्टिक’ गुलाफ आयात हुनेछ। गत वर्षको तुलनामा यो वर्ष केही प्रतिशतले मात्र आयातमा बढी देखिएको हो भने गत वर्षको प्रणय दिवसमा दुई लाख ५० हजार ‘स्टिक’ गुलाफ माग रहेको थियो भने यस वर्ष बजार माग ५० हजार स्टिकले बढी हुने प्रक्षेपण गरिएको छ।
तामाङका अनुसार हरेक वर्षको भ्यालेन्टाइनका दिन दुई करोड रुपियाँ बराबरको गुलाबको आर्थिक कारोबार हुने गरेको छ। यसरी ल्याइने फूलमध्ये ६० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी बाहिरका मुख्य सहरमा खपत हुन्छ। प्रयोगकर्ता हरेक वर्ष वृद्धि भएकाले विगतको वर्ष प्रतिस्टिक मूल्य ८० रुपियाँदेखि एक सय रुपियाँ थियो भने यस वर्ष ढुवानी खर्च महँगो भएका कारणले प्रतिस्टिक गुलाफको एक सयदेखि १२० सम्म उपभोक्ताले खरिद गर्नुपर्ने हुनेछ।
हामीले आयातित चाडपर्व मात्र होइन त्यसमा प्रयोग हुने सामग्रीसमेत आयात गरेर मनाउँदा बर्सेनि करोडौँ रकम विदेशिएर देशको अर्थतन्त्रमा समेत असर पर्ने कुरालाई मध्यनजर गर्दै युवा वर्गले सोच्नुपर्ने बेला भएन र ?