• १३ साउन २०८१, आइतबार

नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न

अटोमोबाइल व्यवसाय इतिहासकै कमजोर अवस्थामा : अध्यक्ष थापा

blog

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभामा उपस्थिति हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नाडाका अध्यक्ष ध्रुव थापासहितका पदाधिकारी ।

काठमाडौं, माघ २८ गते । नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ४६ औँ वार्षिक साधारण सभालाई स्वागत गर्नुहुँदै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।

यस्तो स्थिति सिर्जना हुनुमा विभिन्न कारणहरू जिम्मेवार रहेको उहाँको धारणा छ । थापाले सरकारको बुझाइमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेको भए पनि पछिल्ला वर्षमा नेपालमा नै सवारी साधनको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत सुरुवात भइसकेको, ब्याट्री र टायरत्यूव लगायतका सामान नेपाल मै उत्पादन भइरहेको बताउँदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिज उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराउनुभयो ।

राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुक भारत र चीनमा हाम्रो लागि उत्पादित सामान बजारीकरणका लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्नुहुँदै उहाँले यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताउनुभयो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ । मन्त्री पौडेलले अटोमोबाइल सबैका लागि आवश्यक बन्दै गएको बताउनुभयो ।

मन्त्री पौडेलले अहिले सवारी साधन विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट रूपमा औँल्याउनु हुँदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको  वस्तु मानिएको उदाहरण दिनुहुँदै अहिले मोबाइल सबैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैँको विलासी नहुने धारणा व्यक्त गर्नुभयो ।उहाँले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूको गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो ।

मन्त्री पौडेलले द्रुत गतिमा विद्युतीय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औँल्याउनु हुँदै यसो हुन सकेको खण्डमा इन्धनका लागि बिदेसिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने जानकारी दिनुभयो । आफू व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताउनुभयो ।

सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति अञ्जन श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।