• १३ साउन २०८१, आइतबार

बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री पौडेल

blog

प्रतिनिधि सभा बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधि सभामा पेश गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ २९ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताउनुभएको छ  ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधि सभामा पेश गर्नुहुँदै सो कुरा बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने देखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा हुने देखिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको पनि बताउनुभयो । उहाँले राजश्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकम नपुग भएको जिकिर गर्नुभयो । सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्नुहुँदै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका छन् । उहाँले धान उत्पादन गतवर्षभन्दा सामान्य मात्र वृद्धि हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको बताउनुभयो ।