बाजुरा समाचारदाता
बाजुरा, माघ २९ गते । बाजुराका गाउँबस्तीमा सामान ढुवानी गर्ने साधनका रूपमा गधा र खच्चडको प्रयोग हुन्थ्यो। गाउँगाउँमा कच्ची सडक पुगेसँगै गधा र खच्चडको प्रयोगमा कमी आउन थालेको छ।
साबिकका बाह्रबिस, नौबिस, छतारा, तोली, बह्रतोला, कैलाशमाण्डौँ, मार्तडी, जडाङ्गा, मानाकोट, दहकोट र जिल्लाको पूर्वीउत्तर क्षेत्रका पाण्डुसैन, कोल्टी, बाँधु, बिछ्या, जगनाथ, वाई, साप्पाटालगायतका स्थानीयले गधा र खच्चडमार्फत नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे। २०७२ सालमा साँफे–मार्तडी राजमार्ग सञ्चालन भएसँगै बाजुराका अधिकांश गाउँमा गाडी चल्न थालेको छ। त्यसपछि गधा र खच्चडको प्रयोगसमेत बिस्तारै कम हुन थालेको हो।
खप्तड छेडेदह गाउँपालिका–५ का सिद्धभान रावतले लामो समय खच्चडपालन र ढुवानी व्यवसाय सञ्चालन गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले साँफे–मार्तडी राजमार्गसँगै गाउँगाउँमा कृषि सडक निर्माण भएपछि गधा र खच्चडको प्रयोगमा कमी आएको छ ।”
गाउँका विकास निर्माणका सामान ढुवानीमा पहिला खच्चड नै प्रयोग हुन्थे। खानेपानी, विद्यालयलगायतका भौतिक पूर्वाधार निर्माणका सामग्री सिमेन्ट, सरिया, बालुवा पनि खच्चडमार्फत नै ढुवानी हुन्थ्यो। अहिले गाडीले नै ढुवानी सस्तो र छिटो गर्ने भए पनि खच्चडपालन व्यवसाय नै छाडेको रावतले बताउनुभयो।
२०६५ सालपहिले खच्चडमा सामग्री ढुवानी गर्दा मार्तडीसम्मको सात रुपियाँ प्रतिकिलो भाडा थियो। त्यतिबेला गाउँका व्यवसायीले खच्चडको पालो कुर्नुपथ्र्यो। पालैपालो गरेर खच्चडले व्यापारीको सामग्री ढुवानी गर्ने गरेका थिए। २०६३ सालभन्दा पहिला बाजुराको मुख्य व्यापारी केन्द्र भनेको छिमेकी जिल्ला अछामको साँफेबगरको हाटबजार रहेको थियो। बाजुराका ठूला व्यापारीले त्यही हाटबजारबाट खच्चडमार्फत सामान ढुवानी गराउने गरेका थिए।
२०६५ सालपछि सो हाटबजार बिस्तारै डाब बजार, रिठाबजार, ताँप्रीसेरा तिपाडा, हुँदै मार्तडीको गैरीबजारमा स्थापना भयो। त्यसपछि खच्चड मार्तडीदेखि कोल्टीसम्म मात्र चल्न थाले। त्यहाँबाट पनि २०७३/७४ पछि सो हाटबजार कोल्टीको दानसाँघुसम्म पुग्यो। यसरी बजार बिस्तारै गाउँगाउँको नजिक पुग्दै गएपछि पहिले सामग्री ढुवानी गर्ने सवारीसाधनका रूपमा मानिँदै आएका गधा र खच्चडको पनि प्रयोगमा कमी भएको रावतले बताउनुभयो।
बाजुराका नौवटै स्थानीय तहको विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएका छन्। त्यहाँका स्थानीयवासीले अहिले सोही हाटबजारबाटै दैनिक उपभोग्यका सामग्री उपलब्ध गर्छन्।
२०६५ सालमा मार्तडीसम्म सञ्चालन भएको साँफे–मार्तडी सडक अहिले कालोपत्रे भएको पनि झन्डै पाँच वर्ष भयो। मार्तडी–कोल्टी सडक कोल्टी पुगेको झन्डै चार वर्ष भयो। अहिले गाउँगाउँमा गाडी सञ्चालन भएका छन्। हिजोको दिनमा घरबाट एक दिनको बाटो हिँडेर मात्र गाडी चढ्ने त्यहाँका स्थानीय अहिले गाउँमै गाडीको सवारी गर्ने र विभिन्न सामग्री बोक्ने गरेका छन्।
२०७२ सालमा मार्तडीदेखि कोल्टीसम्म चल्ने खच्चड पछिल्लो समय मार्तडीमा समेत देखिन छोडेका छन्। बाजुराको पूर्वीउत्तर क्षेत्रको कोल्टी, पिलिचौर, दानसाँघुलगायतका ठाउँमा हाटबजार स्थापना भएसँगै मार्तडीसमेत खच्चड देखिन छोडेका हुन्। यद्यपि बर्खाको समयमा अधिकांश ठाउँमा अहिले पनि व्यापारीले खच्चडबाट सामान ढुवानी गर्ने गरेका छन्।
बर्खाको समयमा मार्तडीदेखि कोल्टीसम्मको बाटो बन्द भएपछि ती व्यापारीले खच्चडमार्फत नै सामान ढुवानी गरेका थिए। विगतका दिनमा भेडा, घोडा र खच्चडबाट सामग्री ढुवानी गर्दै आएका त्यहाँका स्थानीय अहिले गाडीबाट नै ढुवानी गर्दै आएका छन्।
बूढीनन्दा नगरपालिका–९ का स्थानीय भेडापालक प्रेम थापाले पहिला गाउँमा भेडा, घोडा, गधा र खच्चडमार्फत खाद्यान्न सामग्री ढुवानी हुने गरेको बताउनुभयो। उहाँले अहिले प्रत्येक गाउँमा सडक पुगेपछि भेडा, खच्चडबाट ढुवानी गर्ने सामग्री गाडीबाट गर्ने गरेपछि भेडा, घोडा, गधा र खच्चड पनि बिस्तारै पाल्न छोडेको बताउनुभयो।
बाजुरामा पहिले यातायातका सवारीसाधन भनेकै भेडा, घोडा र खच्चड हुन्। गाउँमा कसैको विवाह भयो भने बेहुला र बेहुली बोक्न घोडा खोज्ने गर्दथे। चामल, नुन, तेलजस्ता दैनिक उपभोग्य तथा भौतिक निर्माणका सामग्री ढुवानी गर्दा भेडा र खच्चडको माग हुन्थ्यो।