• ८ मंसिर २०८१, शनिबार

जीवन बीमाको दायरामा चवालीस प्रतिशत जनसङ्ख्या

blog

काठमाडौँ, माघ २९ गते । म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित जीवन बीमाको दायरामा आएको जनसङ्ख्या आव २०७९/८० को पुस मसान्तसम्म ४४ दशमलव २५ प्रतिशत रहेको छ । 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । आव २०७८/७९ मा म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित जीवन बीमाको दायरामा आएको जनसङ्ख्या ३३ दशमलव ४१ रहेको थियो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्यादी र लघुम्यादी जीवन बीमालेख सङ्ख्या ७३ लाख १३ हजार १२१ रहेको छ ।

झन्डै ९२ अर्ब बीमा शुल्क आर्जन

चालू आर्थिक वर्षको छ महिनामा ९१ अर्ब ७३ करोड ४५ लाख ५५ हजार रुपियाँ बीमा शुल्क आर्जन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १ दशमलव ९१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बीमा शुल्क सङ्कलन ९० अर्ब एक करोड २१ लाख ६८ हजार रुपियाँ रहेको थियो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार कुल बीमा शुल्कमध्ये ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपियाँ जीवन बीमा शुल्क सङ्कलन भएको छ भने २० अर्ब आठ करोड २५ लाख एक हजार रुपियाँ निर्जीवन बीमा शुल्क सङ्कलन भएको छ । जीवन बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव ०४ प्रतिशतले बढी रहेको छ भने निर्जीवन बीमा शुल्क ५ दशमलव १५ प्रतिशतले बढी रहेको छ ।

आव २०७८/७९ को पहिलो छ महिनामा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपियाँ जीवन बीमा शुल्क सङ्कलन भएको थियो भने १९ अर्ब नौ करोड ८२ लाख छ हजार रुपियाँ निर्जीवन बीमा शुल्क सङ्कलन भएको थियो ।

बीमालेख सङ्ख्या पनि बढी

आव २०७९/८० को पुस मसान्तसम्म कुल जीवन बीमालेख सङ्ख्या एक करोड ४१ लाख नौ हजार १५० रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष एक करोड चार लाख ६० हजार १४१ जीवन बीमालेख सङ्ख्या 

रहेको थियो । यस्तै चालू आर्थिक वर्षको पुस मसान्तसम्म १३ लाख ९५ हजार ३२ निर्जीवन बीमालेख पुगेको छ । यो पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ११ प्रतिशतले बढी हो । आव २०७८/७९ को सोही अवधिको निर्जीवन बीमालेख सङ्ख्या १४ लाख ८५ हजार ८५१ रहेको थियो ।

वैदेशिक रोजगार, म्यादी र लघु म्यादी उच्च

चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्यादी र लघुम्यादी जीवन बीमालेख सङ्ख्या ७३ लाख १३ हजार १२१ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या ५० लाख ८९ हजार ४५८ रहेको थियो ।

वैदेशिक रोजगार बीमालेख सङ्ख्या पनि १२ लाख ९४ हजार ४५९ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव १७ प्रतिशतले बढी हो । आव २०७८/७९ को सोही अवधिमा वैदेशिक रोजगार बीमालेख सङ्ख्या आठ लाख ५० हजार ६९० रहेको थियो ।

म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेकको जीवन बीमालेख सङ्ख्या भने ५५ लाख एक हजार ५७० रहेको छ । यो पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ७२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा ४५ लाख १९ हजार ९९३ म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख थियो ।