• १८ असार २०८१, मङ्गलबार

खानेपानी पाइपलाइन विस्तार

blog

काठमाडौँ, माघ २९ गते । उपत्यकाको चक्रपथभित्र सहज रूपमा पानी वितरणका लागि एक हजार १० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याइएको छ ।

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले बिछ्याइएको नयाँ पाइपलाइनमध्ये करिब ५५० किलोमिटरको परीक्षण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ पाइपलाइनमार्फत १७ हजार धाराबाट पानी वितरण भइरहेको छ । असार मसान्तसम्म पाइपलाइन परीक्षण कार्य सम्पन्न गरिनेछ । उहाँले चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्वाराही आदि स्थान र चक्रपथबाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब आठ सय किलोमिटरमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिनुभयो । यी क्षेत्रमा सडक खन्नु नपर्ने ‘होरिजेन्टल ड्राइभ ड्रिलिङ’ प्रविधिबाट पाइप बिछ्याउने कार्य भइरहेको छ ।

उहाँका अनुसार चक्रपथबाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैँसेपाटी, बागडोल, सूर्यविनायक, मूलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचाटारलगायतका स्थानमा करिब एक हजार ६५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको छ ।  

उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण गरिदिन अत्यधिक माग आएको छ । निर्देशक सापकोटाले माग सम्बोधन गर्न अनुमानित २४ अर्ब रुपियाँ वित्तीय स्रोत आवश्यक देखिएको बताउनुभयो । सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत् तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा पाइपलाइनमा क्षति भएको, पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपबाट पानी चुहावट हुने गरेको पाइएको उहाँको भनाइ छ । 

सुन्दरीजलदेखि चक्रपथ वरिपरि निर्माण भएका पानीपोखरीसम्म पानी पु-याउन करिब ७६ किलोमिटर थोक वितरण प्रणाली र ७४ हजार पाँच सय घनमिटर क्षमताका १० वटा पानीपोखरी निर्माणको कार्य सम्पन्न भएको निर्देशनालयले जानकारी दिएको छ ।