• १३ असोज २०८१, आइतबार

सन्थाली भाषा लिपिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सबै धर्म संस्कृतिको जगेर्ना प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की

blog

पहिलो सन्थाली पत्रिकाको लोकार्पण गर्नुहुँदै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की। तस्बिरः लीलाराज खडका

लीलाराज खड्का

बिर्तामोड, माघ २८ गते। प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोबास गर्ने सबै भाषाभाषी र धर्म संस्कृतिको जगेर्ना गर्नका लागि प्रदेश सरकारले चाँडै प्रदेशमा आदिवासी सङ्ग्रहालय बनाउन लागेको बताउनुभएको छ।

शनिबार झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजित सन्थाल भाषीको दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले आफू अघिल्लो सरकारमा रहँदासमेत यस कार्यक्रमलाई अगाडि बढाइसकेको बताउनुभयो।

आगामी यसै वर्षको बजेटबाट कामको थालनी हुने उहाँको भनाइ छ। नेपालमा एक लाखको सङ्ख्यामा रहेका सन्थालीभाषीको समस्याका बारेमा सरकार जानकार रहेको भन्दै सन्थाल भाषा संस्कृतिको जगेर्नामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो। 

सन्थाली भाषी देशका सबैभन्दा पुराना आदिवासी जनजाति रहेको भन्दै  छिमेकी देश भारतमा प्रमुख पदमा सन्थाली नागरिक पुग्नुले यहाँका नेपाली सन्थालीलाई समेत यस्ता पदमा पुग्नका लागि हौसला मिलेको उहाँले बताउनुभयो। 

सन्थाली भाषीको भाषा र लिपिका लागि स्कुल कलेज खोल्न र भाषा लिपिको संरक्षणका लागि प्रदेश सरकार सहयोगका लागि तत्पर रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशका जुनसुकै भाषा संस्कृतिको संरक्षणका लागि भूमिका खेल्ने बताउनुभयो। 

कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले सन्थाल भाषा संस्कृतिको संरक्षणमा प्रदेश सरकार लागि पर्ने बताउनुभयो। देशको विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा सन्थाल भाषीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै हाल आएर यो जाति राजनीतिकको मूल प्रवाहमा छुट्टिरहेको भन्दै सन्थाली जातिको शिक्षामा राज्यले सहयोग गर्ने बताउनुभयो। 

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका झापा, मोरङ, सुनसरीका साथै भारत र बङ्गलादेशका अग्रज सन्थाली भाषीको सहभागिता छ। सम्मेलनबाट सन्थाली भाषा लिपिका कार्यपत्र प्रस्तुत भएर झापा घोषणापत्र जारी गर्ने नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका अध्यक्ष सुन्दर बेस्राले जानकारी दिनुभयो।