• १३ असोज २०८१, आइतबार

जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल बनाइने

blog

गाईघाट समाचारदाता

गाईघाट, माघ २८ गते । प्रदेश १ सरकारका स्वस्थ्यमन्त्री निर्मला लिम्बूले जिल्ला अस्पताल उदयपुरलाई प्रादेशिक अस्पताल बनाइने बताउनुभएको छ। उहाँले जिल्ला अस्पताल गाईघाट उदयपुरको स्तरोन्नतिका लागि पहल भइरहेकाले प्रदेश सरकारले केही दिनमा नै निर्णय गर्ने बताउनुभयो । जिल्ला अस्पताल गाईघाट उदयपुरको निरीक्षण भ्रमणको क्रममा आउनुभएकी मन्त्री लिम्बूले स्वास्थ्य सेवा संवेदनशील भएकाले यसलाई ध्यान दिएर काम गर्न आग्रह गर्नुभएको छ। 

सरकारले उपलब्ध गराउने सेवा सहज सरल हुनुपर्नेमा जोड दिँदै मन्त्री लिम्बूले अस्पतालको अनुहार भनेकै सरसफाइ, भएका जनशक्ति व्यवस्थापन र आकस्मिक सेवालाई पहिलो प्राथमिकता राख्न भएकोले सोअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। स्वस्थ्य मन्त्रालयका सचिव डा.अर्जुन भट्टचनले भौगोलिक हिसाबले रणनितिक महत्व बोकेको जिल्लामा उदयपुर पर्दछ भन्दै मन्त्री लिम्बूले भन्नुभएका विषयलाई अस्पतालले ध्यान दिएर सुधारको काममा लाग्नुपर्ने बेला आएको बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य नारायणबहादुर बुर्जा मगरले जिल्ला अस्पताल गाईघाट उदयपुरले अन्य ठूला अस्पताल जत्तिकै सेवा प्रदान गर्न सुरु गरेकोले तत्काल स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभएको छ। त्यसैगरी प्रदेश सभा सदस्य सम्झना तामाङले जनताको गुनासो नआउने गरी स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्नुभयो। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला अस्पताल गाईघाटमा बिरामीको चाप अत्यधिक बढेकाले तत्काल अस्पतालको स्तरोन्नति गर्न मन्त्रीसमक्ष माग गर्नुभएको छ । 

कार्यक्रममा जिल्ला अस्पताल गाईघाट उदयपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ज्ञानेन्द्र झा, स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख बृजकुमार दास, जिल्ला आयुर्वेदिक अस्पताल गाईघाट उदयपुरका प्रमुख डा. सरोजकुमार विशालले उदयपुरमा स्वास्थ्यको अवस्था र चुनौती विषयक छुट्टाछुट्टै तीनवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।