• १३ साउन २०८१, आइतबार

भ्यालेन्टाइन डेको मुखमा गुलाफको फूल आयातमा कडाइ

blog

काठमाडौँ, माघ २८ गते । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ ।  

भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । 

केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्रचार गरेको हो । केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको जानकारी दिनुभयो । आयात रोक्न नसकिने भन्दै उहाँले रोग–कीराको जोखिम नहोस् भनेर आयातमा रोग–कीराको मापदण्ड अपनाउन नाकाका कार्यालय सतर्क गराएका छौँ भन्नुभयो । 

बिहीबार अर्को सूचना नगर्दासम्म गुलाफको फूल आयातमा अनुमति नदिन भन्सार नाकाका कार्यालयलाई पत्राचार गरेको केन्द्रले शुक्रबार त्यसलाई सच्याउँदै रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गरेपछि मात्रै आयातको अनुमति दिन निर्देशन दिएको छ ।