• ८ मंसिर २०८१, शनिबार

फराज आतङ्कवाद र मानवीय पक्ष समेटिएको चलचित्र

blog

काठमाडौँ, माघ २७ गते । २०१६ जुलाई १ को रमाइलो साँझ। बङ्गलादेशको राजधानी ढाकामा रहेको आर्टिसन क्याफेमा बन्दुक र बमसहित पाँच आतङ्ककारीले आक्रमण गर्दा त्यहाँ रहेका आतङ्कित बने। आतङ्ककारी हमलामा भारतीय महिलासहित २२ जनाको हत्या भएको थियो। 

निब्रास (आदित्य रावल) इस्लाम खतरामा छन् र काफिरहरूलाई मार्दा उसलाई र उनका साथीहरूलाई जन्नतमा लैजान्छ भन्ने भ्रममा छन् भने फराज आयाज हुसैन (जहान कपुर)लाई इस्लामिक कट्टरपन्थले बन्धक बनाएको छ। यहाँ प्रश्न उठ्छ कि– जब निब्रासले तपाईंलाई के चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उसले भन्छ, “म तपाईंजस्ता मानिसबाट मेरो इस्लाम फिर्ता चाहन्छु।” इस्लामको विषयवरिपरि घुमेको कथा हो– चलचित्र ‘फराज’ । 

आतङ्ककारीहरू फराजलाई मुस्लिमले त्यो चङ्गुलबाट छुटाउन चाहन्छन् र आफ्नो ज्यान जोगाएर टाढा जाने विकल्प पनि दिन्छन् तर फराज आफ्नो भारतीय हिन्दु प्रेमिका र मुस्लिम साथीहरूलाई छाड्न तयार हुँदैनन्। उनी आफ्नो ज्यान बचाएर भाग्नुको सट्टा, निर्दयी आतङ्ककारीको निडरतासाथ सामना गर्ने सोच बनाउँछन्। उनी आतङ्ककारीलाई इस्लामको वास्तविक अर्थ र उद्देश्यबारे निरन्तर प्रश्नोत्तर गर्छन्। उनी अन्त्यसम्म मानवताको काख छाड्दैनन र त्यसको मूल्य उसले आफ्नो ज्यान गुमाएर चुकाउनुपर्छ।

चलचित्र ‘फराज’ बनाएर हंसल मेहता र अनुभव सिन्हा दुवैले आफ्नो जमानामा आजका युवालाई इस्लाम के हो र मुस्लिम के हो भन्ने सन्देश दिन खोजेका छन्। चलचित्रमा जब एक आतङ्ककारीले फराजलाई सोध्छन्, “तिमी के चाहन्छौ ?” फराज भन्छन्, “हामी तपाईंजस्ता मानिसबाट हाम्रो इस्लाम फिर्ता चाहन्छौँ।” हरेक मुस्लिम नराम्रा हुँदैनन् भन्ने चलचित्रमा देखाउने प्रयास गरिएको छ। चलचित्रमा दुई किसिमका विचारधाराका मानिस देखिएका छन्। एक कट्टरपन्थी विचारधारासँग सम्बन्धित छ, जो रक्तपात गराउन उत्सुक हुन्छ। अर्कोतर्फ इस्लाम वा अन्य कुनै धर्म मान्ने मानिस छन्, जहाँ कुनै पनि धर्मले कसैलाई मार्ने अनुमति दिँदैन। 

‘फराज’अघि पनि हंसल मेहताले आतङ्ककारीमाथि चलचित्र ‘ओमेर्टा’ बनाएका थिए। चलचित्रमा उनले पाकिस्तानी–बेलायतीमूलका आतङ्ककारी उमर सइद शेख कसरी आतङ्ककारी बने भन्ने खुलासा गरेका थिए। उनले चलचित्र ‘साहिद’मा पनि त्यही विषयलाई वरिपरि घुमाएका छन्। चलचित्रमा हंसल मेहताले आतङ्कवादका मानवीय पक्षलाई निकै संवेदनशील रूपमा देखाएका छन्। 

शशी कपुरका नाति तथा कुणाल कपुरका छोरा जहान कपुरले ‘फराज’बाट बलिउडमा डेब्यु गरेका छन्। चलचित्रमा उनी बङ्गलादेशका राजकुमार फराज हुसैनको भूमिकामा देखिएका छन्। त्यस्तै चलचित्रमा परेश रावलका छोरा आदित्य रावल आतङ्ककारी नेता बनेका छन्। दुवैको अभिनय राम्रो छ। दुवैले अचम्मको काम गरेका छन्। फराज हुसैनकी आमाको भूमिकामा जुही बब्बरले पनि उत्कृष्ट काम गरेकी छन्। प्रहरी आयुक्तको भूमिकामा देखिएका दानिस इकबालले पनि अभिनयबाट दर्शकलाई प्रभावित पार्न खोजेका छन्। मध्यान्तरअघि चलचित्र केही कमजोर देखिन्छ तर दोस्रो हाफमा हंसल मेहताले चलचित्रको कथा यस्तो तरिकाले मोड्छन् कि कसैले कथा यस्तो हो भनेर अनुमान लगाउन सक्दैनन्। 

फराजजस्ता चलचित्र त्यही सोचबाट व्युत्पन्न चलचित्र हुन्, जसमा निर्माता तथा निर्देशक अनुभव सिन्हाले ‘मुल्क’ बनाएका थिए। ‘मुल्क’ले नै अनुभव सिन्हालाई विगत बिर्सेर नयाँ चस्माबाट संसार हेर्न चाहने संवेदनशील र रचनात्मक निर्देशकका रूपमा सिनेमामा पुनः स्थापित गराएको थियो। यी दुवै निर्माता तथा निर्देशकको संवेदनाको सङ्गम हो तर बदलिएको परिवेशमा यस्तो चलचित्र हेर्न हलमा दर्शक आकर्षित गर्न निकै गाह्रो छ। ओटीटी प्लेटफर्ममा हेर्नका लागि भने एकदमै उपयुक्त रहेको चलचित्र हो। चलचित्रको सुरुदेखि अन्त्यसम्म मनोरञ्जन मात्र होइन, विचारधाराको विषयलाई पनि समेट्न सफल भएको छ।