• १२ असोज २०८१, शनिबार

अलपत्र आयोजना अघि बढाउन निर्देशन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २६ गते । जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो । 

बिहीबार जिल्ला समन्वय समिति ओखलढुङ्गाले आयोजना गरेको तेस्रो जिल्लासभा तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा सांसद खतिवडाले जिल्लाको विकासको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।  

जिल्लाका विभिन्न आयोजनालाई अघि बढाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी कार्यालय तथा स्थानीय तहलाई चासो दिन पनि अनुरोध गर्नुभयो ।  जिल्लाको विकासका लागि सबै सरोकारवालालाई एक भएर अघि बढ्न सांसद खतिवडाको सुझाव छ । 

यसैवीच पाँच वर्षभित्र ओखलढुङ्गा जिल्लाको मुहार फेरिनेगरी काम गर्न आवश्यक रहेको प्रदेश १ का सभामुख बाबुराम गौतमले बताउनुभयो । पाँच वर्षमा जिल्लाका सबै पालिका केन्द्रदेखि सदरमुकाम जोडिने सडकलाई कालोपत्र गरी व्यवस्थित गर्न आवश्यक रहेको सभामुख गौतको भनाइ छ । 

अहिले पनि जिल्लाबाट बिरामीलाई अन्यत्र उपचारका लागि लैजान हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेकाले सडक कालोपत्रे भएमा जिल्ला सदरमुकाममै बिरामीको उपचार सम्भव हुने गौतमले बताउनुभयो ।

जिल्लाको समग्र विकासका लागि सबैको ध्यान जान आवश्यक रहेको ओखलढुङ्गा प्रदेश ‘क’ प्रदेश सांसद प्रदीपकुमार सुनुवारले बताउनुभयो । जिल्ला समन्वय समिति ओखलढुङ्गाले आयोजना गरेको जिल्ला सभा तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रदेश सांसद सुनुवारले विकासको काममा सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।