• २१ चैत २०८२, शनिबार

‘जनताका समस्या पहिचान र समाधानमा लागिरहन्छु’

blog

जीवछ यादव 

लहान, चैत २१ गते   । चिकित्सक पेसा छाडेर राजनीतिमा आएका सिराहा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. शम्भुकुमार यादव पहिलो पटकमै संसदीय यात्रा तय गर्नुभयो । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका प्रतिनिधि सभा सदस्य डा. यादवले दुई जना पूर्वमन्त्री एवं राजनीतिज्ञलाई पहिलो पटककै प्रयासमा पछि पार्दै निर्वाचित भएपछि डा. यादवको सर्वत्र चर्चा छ ।

सिराहा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य डा. यादवले ३२ हजार २४९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गर्नुभयो । राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि सिराहाको मिर्चैयामा क्लिनिक सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएका प्रतिनिधि सभा सदस्य यादव रास्वपा सिराहाको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा समेत रहनुभएको छ । 

निर्वाचनभन्दा तीन वर्षअघि नै रास्वपा पार्टीमा प्रवेश गरी सव्रिmय रहनुभएका प्रतिनिधि सभा सदस्य डा. यादवलाई यस पटकको निर्वाचनमा सिराहाका जनताले सहज स्वीकार गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएका हुन्  ।

 उत्तरमा चुरे पर्वत र दक्षिणमा भारतीय सीमासम्म फैलिएको यस क्षेत्रमा शिक्षा स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक न्याय, सुरक्षा र रोजगारको समस्या देखिएको  प्रतिनिधि सभा सदस्य डा. यादवले बताउनुभयो । उहाँले विगतका चुनावमा चुनावी घोषणापत्रका आधारमा मतदाताले मतदान गरे पनि यस पटक मतदाताले परिवर्तनका पक्षमा मतदान गरेर आफूलाई निर्वाचित गराएको उहाँले बताउनुभयो । 

पुराना दललाई साथ छाडेर रास्वपाको वाचापत्र र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने, रास्वपाको घोषणापत्रमा विश्वास गरेर मतदाताले मतदान गरेको उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटघाटमा आफूले सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा जनताले भोगिरहेको शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधारसहितका समस्या राखेको बताउनुभयो । 

उहाँले उद्योग, व्यापार क्षेत्रमा देखिएका समस्या र भारतीय सीमाक्षेत्रसहित सदरमुकाम सिराहा आउने सर्वसाधारणलाई हुने गरेको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । उहाँले जनताका समस्याको पहिचान र समाधानका लागि निरन्तर प्रयासरत रहने भन्नुभयो । उहाँले कार्यालयमा बिचौलियाको फन्दामा पर्नुपर्ने जनताको बाध्यता, मिटरब्याज पीडितको समस्या र स्वरोजगार सिर्जना गर्ने सम्भावनालगायतका समस्या प्रधानमन्त्रीसमक्ष प्रष्ट रूपमा मौखिक र लिखित रूपमा राखिसकेको बताउनुभयो । 

उहाँले निर्वाचन प्रचारप्रसारमा जाँदा जनताले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रको समस्या आफूसँग राखेको भन्दै त्यस्ता समस्याको समाधान गर्नतर्फ आफू केन्द्रित हुने बताउनुभयो । उहाँले यस क्षेत्रमा नालासहितको सडक निर्माण व्यवस्थित नभएको, कृषकले सिँचाइ, मलखाद र बजार नपाएको भनी माग गरिएको विषयमा समस्याको सूचीकृत गरी समाधानका उपायसहित भरपर्दो तथ्याङ्क सङ्घीय सरकारसमक्ष राख्ने र त्यस्ता समस्या समाधान गराउनतर्फ आफू अग्रसर हुने बताउनुभयो । 

उहाँले तत्कालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रेटिना स्क्यान प्रविधि जडान गरी बिचौलियाबाट मुक्त गरिने समाधानको उपायसमेत प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा राखेको बताउनुभयो । “उत्तरी भेगको खानेपानी समस्या, दक्षिणी भेगमा सडक पूर्वाधार निर्माणमा देखिएको समस्या, माडर भन्सारको पारदर्शी व्यवस्थापन र सरकारी कार्यालयलाई बिचौलियामुक्त बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि कामकाज अघि बढाउन आफूले पहल गर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सुधारका लागि पाठ्यव्रmमदेखि लिएर विद्यालय सञ्चालनसम्ममा परिवर्तन आवश्यक भएको बताउनुभयो ।