• ११ पुस २०८१, बिहिबार

उपप्रधानमन्त्री र युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता

blog

उपप्रधान एवम् उर्जा जलश्रोत तथा सिंचाई मन्त्री लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता । तस्बिर : उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीको सचिवालय

काठमाडौं, माघ २६ गते । उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी ऊर्जा क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्नुहुँदै सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्नुहुँदै हरित ग्यास उत्पादनको विषयमा समेत छलफल भइरहेको जानकारी दिनुभयो ।

‘‘हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा हामी छलफलमै छौँ ।,’’ उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, “निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।”


छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउनुहुँदै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताउनुभयो । 

उपप्रधानमन्त्री लिङ्देनले अन्तर्देशीय प्रसारण ट्रान्समिसन र अन्य छिमेकी मुलुकसँगको व्यापारका लागि समानान्तर रूपले ट्रान्समिसन लाइन विस्तार गरिने पनि जानकारी दिनुभयो । उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको थियो ।