जानु पाण्डे
कपिलवस्तु, माघ २६ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाको दुधाधारी नमुना माध्यमिक विद्यालयले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने भएको छ । विद्यालयले ६५ औँ वार्षिकोत्सव मनाउँदै शिक्षासँगै रोजगारमूलक सीप प्रदान गर्ने जनाएको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेर शिक्षाको ज्योति फैलाएको विद्यालयले स्थानीय स्तरमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएको छ । वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै लुम्बिनी प्रदेश विनाविभागीय मन्त्री चेतनारायण आचार्यले ग्रामीण क्षेत्रमा रहेर प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले स्थानीय सीप तथा प्रविधिको विकास हुनेगरी ज्ञान दिनु पर्नेमा जोड दिइएको छ । समारोहमा बोल्दै सङ्घीय सांसद बलराम अधिकारीले आफ्नो ठाउँ बनाउन आफै लाग्नुपर्ने बताउनुभयो । स्थानीय सरकारबाट आवश्यकता अनुसारको विकास गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको कानुन बाझिँदा आफू अनुकूल काम गर्न नपाएको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले आधारभूत उमेर समूहका बालबालिकाको विद्यालय छाड्ने दर शून्यमा झार्न पालिकाले योजना बनाएको बताउनुभयो । शिक्षा क्षेत्रमा गरेको लगानीले पालिकाको दिगो विकास हुने बताउँदै सङ्घीय र प्रदेश सरकारबाट भौतिक पूर्वाधारको विकासमा थप लगानीको अपेक्षा गरेको उहाँको भनाइ छ ।
समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, जानकी यादव, गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले विद्यालयले गरेको कामको प्रशंसा गर्नुभयो । विद्यालयले २ वर्षदेखि प्राविधिक धारतर्फ कक्षा सञ्चालन गरेको व्यवस्थापन समितिका अध्यक्ष रामप्रकट कोरीले बताउनुभयो । स्थानीय युवालाई लक्षित गर्दै छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गरेको विद्यालयले जनाएको छ ।