• ८ पुस २०८१, सोमबार

कुहिए पुरातात्त्विक वस्तु

blog

राजन रावत

हुम्ला, माघ २६ गते । हुम्ला जिल्लामा दैनिक जीवनमा प्रयोग गरिने परम्परागत सामग्री संरक्षणका लागि निर्माण गरिएको सङ्ग्रहालय भवन प्रयोगमै नआई जीर्ण बनेको छ । सङ्ग्रहालयमा राख्न गाउँगाउँबाट सङ्गृहीत सामग्रीसमेत त्यत्तिकै थुपारेर राखिएका छन् ।  पुरातात्त्विक  महत्वका कतिपय सामग्री नस्टसमेत भइसकेका छन् । 

जिल्ला समन्वय समितिले निर्माण सम्पन्न भएको लामो समयसम्म सङ्ग्रहालय सञ्चालनमा नल्याउँदा भवन जीर्ण बन्दै गएको छ । खार्पुनाथ गाउँपालिका–५ का पूर्ववडाध्यक्ष भीमराज शाहीले हुम्लाको सांस्कृतिक पहिचान, परम्परागत रूपमा प्रयोग हुने गरगहना, स्थानीय निर्माण सामग्रीलगायतका वस्तुलाई संरक्षण गर्न सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो ।

उहाँले सात वर्षअघि निर्माण गरिएको सङ्ग्रहालयमा विभिन्न स्थानबाट प्राप्त सामग्री राखिएको छैन । पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउने उद्देश्यसाथ २०७३ सालमा जिल्ला विकास समितिको पर्यटन शाखाले सिमकोट बजारमा भाडामा घर लिएर सङ्ग्रहालय स्थापना गरेको थियो । 

तत्कालीन स्थानीय विकास अधिकारी रवि भट्टराईले जिल्ला विकास समितिबाट बजेटको व्यवस्था गरी सङ्ग्रहालयका लागि सिमकोटस्थित सिमसार क्षेत्रमा संरचना निर्माण गरिएको बताउनुभयो । सो भवन १५  लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण भएको थियो । भवन बने पनि भाडाको घरमा राखिएका सामान हाल नयाँ बनेको भवनमा व्यवस्थापन नगरी त्यसै थुपारिएको छ । भवनका झ्याल–ढोका फुटेटुटेका छन् भने गारोसमेत भत्किन थालेको छ । पुराना स्थानीय गरगहना, काठका सामग्री, लत्ताकपडा, माटोका भाँडालगायत दुुई सयभन्दा बढी सामग्री अहिले अलपत्र अवस्थामा रहेका छन् । तत्कालीन अवस्थामा भाडाको घरमा सञ्चालन भएको सङ्ग्रहालय हेर्ने जिम्मा लिएका विशाल बोहराले नयाँ निर्माण भएको सङ्ग्रहालय बेवारिसे अवस्थामा रहेको बताउनुभयो । उहाँ हाल सिमकोट गाउँपालिकाका लेखा प्रमुख हुनुहुन्छ । उहाँले नयाँ बनेको भवन मात्र नभएर जम्मा गरिएका सामग्रीसमेत कुहिएर बिग्रिने अवस्थामा पुुगेको बताउनुुभयो । उहाँले सङ्ग्रहालय सञ्चालन गर्न सके जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।