• १२ असोज २०८१, शनिबार

छब्बीस करोड लगानीमा व्यावसायिक खेती

blog

हरि कोइराला

उर्लाबारी, माघ २६ गते । मोरङको रङ्गेली नगरपालिका–१, गोहीगाढामा नौ जना किसानले ३५ बिघामा व्यावसायिक कृषि सुरु गरेका छन् । २०७७ चैतमा जय श्रीराम एग्रो फार्म प्रालि दर्ता गरी सुरु गरिएको यो फार्ममा २६ करोड रुपियाँ लगानी भइसकेको छ, जसमध्ये तीन करोड रुपियाँ पूर्वाधारमा खर्च भइसकेको छ । 

फार्मका सञ्चालक टेकनाथ पौडेलका अनुसार कम्पनीले नै खरिद गरेको जमिनमा हालसम्म छ बिघाको माछापोखरी, तीन बिघामा घाँस खेती, एक बिघामा पशुपन्छी गोठ, चार बिघामा ड्र्यागन खेती, एक बिघामा आँप, लिची, कटहर, एभोकाडोलगायतका फलफूल खेती र एक बिघामा हरियो सागसब्जी खेती लगाइएको छ । 

बाँकी २० बिघामा मौसमअनुसार धान, मकै, गहुँ, तोरीलगायतका बाली लगाउने गरिएकोे पौडेलले बताउनुभयो । त्यति मात्र होइन, गोठमा २२ वटा उन्नत जातका पाडी, पाँच सयभन्दा बढी स्थानीय जातका कुखुरा र ७७ वटा स्थानीय जातका बाख्रा छन् ।

पाँच वर्षसम्म कुनै आम्दानीको अपेक्षा नगरीकन खेती सुरु गरिए पनि २०७८ सालदेखि नै  कुखुरा, बाख्रा र खेतीबाट आम्दानी सुरु भएको सञ्चालकले बताएका छन् तर त्यो आम्दानीले कामदारलाई पारिश्रमिक, मल, बीउ र सामान्य आन्तरिक खर्च मात्रै धानेको छ । १४ जना 

कामदारले रोजगारी पाइरहेको जय श्रीराम एग्रो फार्मले माछा, ड्र्यागन र चैतेधान खेतीमा अध्ययन गरिरहेको छ । सञ्चालक पौडेलले भन्नुभयो, “२०३५ सालमा भित्रिएका माछाका भुराबाटै अहिलेसम्म नेपालको माछापालन चलिरहेको छ । चीनबाट ल्याइएको त्यो जात मनसुली धानको बीउजस्तै भएको छ । उत्पादन खिएको खिएकै छ । त्यसैले हामी माछा, ड्र्यागन र चैतेधानको नश्ल सुधारका लागि अध्ययन गरिरहेका छौँ ।” 

सरकारले समयमा मल र बीउ मात्र उपलब्ध गराए, कृषि उत्पादनमा वैदेशिक परनिर्भता घटाउन सकिने सञ्चालकको भनाइ छ । पौडेलले भन्नुभयो, “कृषि उत्पादन वृद्धिका लागि माटो सुधार गर्न पाडा, बाख्रा र कुखुरा पालेका छौँ । निरन्तर गोबर मल प्रयोग गरेर माटोको उर्वराशक्ति वृद्धि गर्नुपर्ने चुनौती छ । माटोमा सुधार ल्याएर पाँच वर्षपछि कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य छ ।”  मोरङ जिल्लामै सबैभन्दा ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेको यो फार्मको अवलोकन गर्न आउनेको अचेल भीड लाग्न थालेको छ ।