छवि पाण्डे
बुटवल, असार २४ गते । बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला परेका छन् । बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले फेलापरेका भग्नावशेष बुद्धकालीन समयको भएका बताउनुभयो । उहाँले योगीडाँडामा पुरानो घर, मन्दिर, सिलौटा, प्राचीन कुवा र इँटाहरू फेला परेको बताउँदै यो क्षेत्रको उत्खननको आवश्यकतामा जोड दिनुभयो ।
यसअघि पनि स्थानीयले गाईभैँसी चराउँदा त्यस क्षेत्रमा फेला परेका ऐतिहासिक वस्तु कतिपयले घरमासमेत लगेर राखेको बताइएको छ । वडाध्यक्ष आचार्यले चुरे पहाडको काखमा अलपत्र छरिएर रहेका ऐतिहासिक वस्तुको संरक्षणका लागि आफूहरूले पुरातìव विभागको ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले योगीडाँडामा वर्सौंअघि फेला परेको एउटा बुद्धको मूर्ति लुम्बिनीको सङ्ग्रहालयमा राखिएको समेत बताउनुभयो । चारपाला सामुदायिक वन क्षेत्रभित्रको योगीडाँडा क्षेत्र बुद्धकालीन सहर रहेको अनुमान गरिएको छ । वन समूहका अध्यक्ष जगतनाथ शर्माले चारपालाको वन क्षेत्रमा अहिले मात्रै नभएर धेरै पहिले पनि बुद्धकालीन भग्नावशेष फेला परेको बताउँदै यो क्षेत्र बुद्धकालीन सहरमध्ये एक रहेको इतिहासमा उल्लेख भएको दाबी गर्नुभयो ।
उहाँले आफूहरूले वर्षौंदेखि यो क्षेत्रको संरक्षणका लागि पुरातत्व विभागको ध्यानाकर्षण गराएको बताउँदै अहिलेसम्म संरक्षण हुन नसकेको उल्लेख गर्नुभयो । चारपाला सामुदायिक वनले फेला परेका बुद्धकालीन ऐतिहासिक वस्तु खुला
सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउनुभयो ।
यसैबिच लुम्बिनी बौद्ध विश्वविद्यालयमा आएको चिनियाँको अध्ययन टोलीलेसमेत योगीडाँडा क्षेत्रको स्थलगत अवलोकन गरेको छ । टोलीले फेला परेका ऐतिहासिक वस्तु बुद्धकालीन समयको हुन सक्ने भएकाले यसको विस्तृत अध्ययन गरी संरक्षण गर्नुपर्ने बताएको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
वडाध्यक्ष शर्मा आचार्यले अहिले फेला परेका ऐतिहासिक वस्तु भोलिको पुस्ताका लागि अमूल्य निधि हुन सक्ने भएकाले तिनको संरक्षण गर्नुपर्ने र थप उत्खननको आवश्यकता औँल्याउनुभयो ।
चारपाला सामुदायिक वनका अध्यक्ष शर्माले लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक वस्तुलाई सेड बनाएर संरक्षण गरेर राख्नका लागि केही रकम उपलब्ध गराएकाले यो वर्ष संरक्षणको काम हुने जानकारी दिनुभयो । पदमपाणी प्राकृतिक चिकित्सालयका पूर्वअध्यक्ष रामप्रसाद भट्टराईले चारपालाको योगीडाँडा क्षेत्र र सैनामैनाको रानीबगिया वनकट्टा क्षेत्रमा धेरै पहिलेदेखि नै स्थानीयले भवनका पर्खाल, पुरानो कुँवा, इँटाका भाँडा फेलापर्दै आएको बताउनुभयो । उहाँले कतिपय ऐतिहासिक सामग्री संरक्षणको अभावमा लोप भएको भन्दै संरक्षणमा जोड दिनुभयो ।