• १५ वैशाख २०८१, शनिबार

जर्सीको कथा

blog

विश्वकप फुटबल विजेता अर्जेन्टिनाले सधैँ फिक्का नीलो र सेतो पट्टी भएको जर्सी किन लगाउँछ ? यसको गाथा बैजेन्टाइन साम्राज्य, पुनर्जागरण कालका पेन्टर, नेपोलियन, युद्ध र क्रान्तिसँग जोडिएको छ ।

रोमन साम्राज्यको पूर्व आधा भागको पुनरारम्भ बैजेन्टाइन साम्राज्यमा नीलो रङलाई श्रेष्ठता तथा सम्राट र साम्राज्ञीको रङ मानिन्थ्यो । नीलो रङ महँगो थियो । यसलाई सामाजिक प्रतिष्ठा ल्याउने तथा वैभवको प्रतीक मानिन्थ्यो ।

सेन्ट मेरीको आराधना हुन थालेसँगै चित्रकारहरूले उनलाई नीलो वस्त्रले चित्रण गर्न थाले । उनी एक महìवपूर्ण तथा श्रद्धेय व्यक्ति थिइन् । उनी लालीत्य बढाउन उत्तम उपाय के हुन सक्थ्यो ? इस्वी संवत्को पाँचौँ शताब्दीपछिका वर्षमा बैजेन्टाइन मोज्याइकमा उनका वस्त्रमा एजुराइट प्रयोग गरिएको पाइन्छ । एजुराइट भनेको यस्तो खनिज हो जसमा कपर हाइड्रोकसेल कार्बोनेट हुन्छ र यो नीलो देखिन्छ ।

मेरीका वस्त्रमा नीलो रङ प्रयोग चाँडै नै धार्मिक तथा कलात्मक पराम्पराको एक मुख्य हिस्सा बन्न गयो । पुनर्जागरणकालका कलाकारले मेरीका वस्त्रमा रङ भर्न लापिस लाजेलाई उपयोग गर्दथे, जुन अफगानिस्तानका खानीबाट प्राप्त हुन्थ्यो र सुनभन्दा महँगो पर्दथ्यो ।

इटालीका व्यापारीले लापिस लाजेलाई त्यति परबाट ल्याउने भएकाले त्यसले सिर्जना गर्ने वर्णक ‘अल्ट्रामेरिनस’ 

नामले परिचित भयो । ल्याटिन भाषामा त्यसको अर्थ ‘समुद्र माथिबाट’ हुन्छ । अल्ट्रामेरिनस नीलो रङको गाढा र चम्किलो छायाँ थियो, आफ्नो सुन्दरता र दुर्लभता बहुमूल्य थियो ।

इस्वी संवत्को १८औँ शताब्दीमा स्पेनमा चाल्र्स तृतीय राजा थिए । उनका छोरा तथा उत्तराधिकारी, जसलाई चाल्र्स नै भनिन्थ्यो, को विवाह भएको पाँच वर्ष हुँदा पनि सन्तान प्राप्ति भएको थिएन । त्यस कालखण्डमा स्पेनको साम्राज्य अर्जेन्टिनासम्म बिस्तारित थियो ।

जब राजाका छोरालाई सन्तान प्राप्ति भयो उनी खुसीले ओतप्रोत भए । त्यस शुभ अवसरलाई स्मरणीय बनाउन राजाले सन् १७७१ मा ‘अर्डर अफ चाल्र्स तृतीय’ स्थापना गराए, जो विशिष्ट स्पेनीहरूको एक खालको समाज थियो । आफ्ना सदस्यका लागि प्रत्येक अर्डरले राजाबाट विशेष रङको पहिचान वस्त्र प्राप्त गरेका थिए ।

आफ्ना उत्तराधिकारीलाई सन्तान प्राप्ति होस् भनी राजाले कैयौँ वर्ष सेन्ट मेरीका लागि प्रार्थना गरेका थिए । यसर्थ राजाको नयाँ अर्डरको रङ निःसन्देह नीलो नै भयो, मेरीको वस्त्रको रङ । त्यसमा सेतो रङ 

पनि जोडियो ।

मेरीको चित्रमा प्रयोग गरिएको भन्दा अलि फिक्का नीलो रङ राजाले चयन गरेका थिए । सन् १७६७ मा जियोभन्नी बाटिस्टा टिपोलोले बनाएको मेरीको पेन्टिङमा उनको वस्त्रमा फिक्का नीलो रङ प्रयोग भएको हामी देख्न सक्छौँ । यो पेन्टिङलाई चाल्र्स तृतीयले स्वीकार गरेका थिए ।

जेहोस् सन् १८०८ सम्म नेपोलियन बोनापार्ट युरोपको परिदृश्यमा आइसकेका थिए । युरोप दिग्विजयका लागि हिँडेका नेपोलियनले चाल्र्स तृतीयका नाति चाल्र्स फर्डिनान्ड सातौँलाई गद्दी  छाड्न बाध्य पारे । नेपोलियनले त्यसपछि स्पेनको राजगद्दीमा आफ्ना भाइ जोसेफ बोनापार्टलाई बसाए । नेपोलियनको यस कदमले स्पेनमा विद्रोह सुरु भयो ।

नेपोलियनका विरुद्ध स्पेनमा मात्र होइन अर्जेन्टिनामा समेत विद्रोह हुन थाल्यो । स्पेनको वास्तविक सम्राटप्रति आफ्नो निष्ठा प्रदर्शित गर्न अर्जेन्टिनी विद्रोहीहरूले चाल्र्स तृतीयद्वारा प्रदान गरिएको फिक्का नीलो र सेतो रङ भएको लुगाा लगाएका थिए । यस खालको लुगाले उनीहरू नेपोलियन पक्षका लडाकुहरू भन्दा फरक त देखिन्थे नै फर्डिनान्डप्रति उनीहरूको निष्ठासमेत झल्कन्थ्यो ।

दुई वर्षपछि सन् १८१० मा अर्जेन्टिनामा स्वतन्त्रताको लडाइँ चर्कियो । सन् १८१२ मा स्वतन्त्रता पक्षधरका नेता मेनुयल बेलग्रानोले ‘ककेड अफ अर्जेन्टिना’ तयार पारे, क्रान्तिकारी शक्तिलाई राजभक्तहरूभन्दा भिन्न देखाउन ककेड बनाइएको थियो । रिबनमा पारिएको विशेष 

गाँठोलाई ककेड भनिन्छ ।

स्पेनमा जोसेफ बोनापार्टको शासनविरुद्ध अर्जेन्टिनीहरूको विद्रोहमा प्रयोग गरिएको रङलाई नै बेलग्रानोले ककेडका लागि रोजेका थिए । पछि क्रान्तिकारी सरकारले आधिकारिक रूपमा ककेड स्वीकारेको थियो ।

केही दिनमै बेलग्रानोले अर्जेन्टिनाको झन्डा रचना गरे र त्यसमा समेत उनले तिनै रङ प्रयोग गरे । केही दुर्घटना, सरकार परिवर्तन, युद्ध तथा वर्षपछि बेलग्रानोले बनाएको झन्डालाई सन् १८१६ मा स्वतन्त्र अर्जेन्टिनाको आधिकारिक झन्डा स्वीकार गरियो । त्यस झन्डामा सन् १८१८ मा एउटा सूर्य चित्र अङ्कित गरिएको थियो ।

जुनबेला बेलग्रानोले आफूले रचना गरेको झन्डा सर्वप्रथम जनमानसका अगाडि प्रस्तुत गरेका थिए उनले त्यसमा प्रयुक्त फिक्का नीलो रङलाई आकाश र सेतोलाई बादलसँग तुलना गरेका थिए । आकाश र बादल उनको प्रेरणा भएको अर्थ लगाइयो त्यतिबेला । अर्जेन्टिनाका चित्ताकर्षक प्राकृतिक भूदृश्यलाई हेर्दा झन्डाको रचना सही लाग्दछ तर यो त चाल्र्स तृतीयको कालखण्डबाट 

आएको थियो ।

त्यसपछिका केही दशक चाँडै बिते । सन् १८८० को दशकमा फुटबल भनिने खेल अर्जेन्टिना आइपुग्यो । बेलायती रेलकर्मीहरू अर्जेन्टिनामा यो खेल खेल्न थाले र चाँडै स्थानीय बासिन्दामाझ खेल पुग्यो । अर्जेन्टिनामा फुटबल लोकप्रिय हुन धेरै समय लागेन सन् १८९१ मा अर्जेन्टिनामा फुटबल लिग सुरु भयो, जुन विश्वको पाँचौँ पुरानो लिग हो । यसैगरी सन् १८९३ मा अर्जेन्टिनामा राष्ट्रिय फुटबल सङ्घ स्थापना गरिएको थियो ।

पहिलो पटक अर्जेन्टिनाले फिक्का नीलो रङको जर्सी लगाएर सन् १९०२ मा उरुग्वेविरुद्ध फुटबल खेल खेल्यो तर त्यसको छ वर्षपछि सन् १९०८ मा अर्जेन्टिनीहरूले नीलो र सेतो धर्का भएको जर्सी लगाएर ब्राजिलको लिगमा अलस्टार टिमबाट खेले । एवं प्रकारले हाल एक सय १४ वर्ष भएको छ अर्जेन्टिनाले फिक्का नीलो र सेतो धर्का भएको जर्सी लगाएर नै फुटबल खेलिरहेको छ, जसमा उनीहरूको राष्ट्रिय झन्डाको विम्ब झल्किन्छ । धार्मिक, कलात्मक, राजनीतिक उथलपुथल, युद्ध, विद्रोहको शताब्दीयौँ लामो इतिहासको विम्ब लिएर फुटबल खेलिरहेको अर्जेन्टिनाले हालै मात्र तेस्रो पटक विश्वकप फुटबल जितेको छ । 

– सोमराज पोखरेल