• १२ असोज २०८१, शनिबार

मूलघाट–पाँचथर सडकमा कालोपत्रे सुरु

blog

फिदिम समाचारदाता 

फिदिम, माघ २२ गते । पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्डमा कालोपत्रे सुरु भएको छ। २०७८ सालमा यो सडकको ट्रयाक खोलिएको हो। पूर्वका पहाडी जिल्लालाई मोरङ र सुनसरीसहित तराईसँग जोड्ने द्रुत मार्गका रूपमा यो सडकलाई लिइन्छ। 

प्रथम चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको ११० किलोमिटर सडक कालोपत्रे गर्न सरकारले गत भदौ महिनामा बोलपत्र आह्वान गरेको थियो। ठेक्का सम्झौताअनुसार कामअघि बढाइएको तमोर कोरिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले बताउनुभयो। मूलघाटदेखि गणेश चोकसम्मको सडक कालोपत्र गर्न दुई प्याकेजमा ठेक्का सम्झौता भएलगत्तै निर्माण व्यवसायीले काम सुरु गरेका छन्। 

धनकुटाको मूलघाटदेखि हाङ्ठुवासम्म ६६ किलोमिटर सडक कालोपत्रे गर्न रौतहा क्षमादेवी (जेभी) नामक निर्माण कम्पनीसँग दुई अर्ब ४० करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ। बाँकी ५४ किलोमिर सडक कालोपत्रे गर्न एक अर्ब २४ करोड रुपियाँमा एपेक्स निर्माण सेवासँग सम्झौता भएको नेपालीले बताउनुभयो। 

११० किलोमिटर सडक कालोपत्रे गर्न दुईवटा कम्पनीसँग कुल तीन अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भएको हो। तमोर कोरिडोर सुनसरीको चतरादेखि सुरु भएर ताप्लेजुङको टिपताला पुगेर टुङ्गिन्छ। जुन बाटो भएर सुनसरीको धरान हुँदै प्रदेश १ राजधानी विराटनगर पुग्न पाँचथरका नागरिकलाई छ घण्टा र ताप्लेजुङका नागरिकलाई फुङ्लिङबाट आठ घण्टा मात्रै लाग्छ। 

मेची राजमार्ग भएर पाँचथर, इलाम झापा हुँदै विराटनगर वा धरान पुग्न पाँचथरबाट कम्तिमा नौ र ताप्लेजुङबाट १२ घण्टा यात्रा गर्नुपर्छ।  तमोर नदीको किनारै किनार खनिएको यो सडकलाई पहाडदेखि तराई झर्न छिटो र सजिलो भएकाले ‘फास्ट ट्रयाक’ भन्न थालिएको छ। कालोपत्रे भइसकेपछि समय अझै छोटिने चालक बताउँछन्। सरकारले यो सडकको ट्रयाक खोल्न छ अर्ब १५ करोड १४ लाख रुपियाँ खर्च गरेको थियो।