• ४ जेठ २०८१, शुक्रबार

नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन प्राथमिकता

blog

राँझा,  माघ २० गते । नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य  प्रवर्द्धन  सेवालाई प्राथमिकता दिएको छ । 

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलो पटक एक जना ‘एमबिबिएस’  र ‘ल्याब टेक्निसियन’सहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ । केन्द्रका लागि उपमहानगरपालिकाले ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिरहेको छ ।

“विशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ”, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयो, “अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई दृष्टिगत गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिनेछ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवर्द्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उहाँको भनाइ छ ।

उपमहानगरद्वारा सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा. शङ्कर केसी लगायतले विश्वभर नसर्ने रोगबाट ७० प्रतिशत व्यक्ति प्रभावित हुने भएकाले स्वास्थ्य सेवाअन्तर्गत उपचार र जाँचसँगै स्वास्थ्य प्रवर्द्धनात्मक काम गरिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक नीत र कार्यविधि पास गर्नासाथ सेवा सञ्चालन हुने डा. केसीले जानकारी दिनुभयो । 

यसअघि विसं २०७७ मै सङ्घीय सरकारको बजेटमा स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भए पनि बीचमा बजेट अभावमा सेवा सञ्चालन हुन सकेको थिएन । अहिले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेकाले छिट्टै सेवा सञ्चालन हुने डा. केसीको भनाइ छ ।