• १२ असोज २०८१, शनिबार

सहकारीको अनियमितता छानबिन गर्न माग

blog

इनरुवा समाचारदाता 

इनरुवा, माघ २० गते  । सनुसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि.मा अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै सदस्यको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। 

हरिनगर–२, रामनगर, भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थामा करोडौँको अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै पदाधिकारीसहित सदस्यको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन्। हरिनगरमा नाम चलेको सहकारी भए पनि सहकारीको ऐन, नियमावली र कानुन विपरीत अनियमितता गरेको आरोप छ। 

स्थानीयले सञ्चालक समितिका सबै सदस्यको आर्थिक हैसियत र सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन्। सञ्चालक समितिका अध्यक्ष सलामुद्धिन अन्सारीले सरोकार बचत तथा ऋण सहकारीमा कुनै अनियमितता नभएको तर केही सदस्यको आर्थिक हैसियत र सम्पत्ति छानबिन गर्नुपर्ने बेला आएको प्रतिक्रिया दिनुभयो। 

नाम उल्लेख नगर्ने सर्तमा सहकारीको सञ्चालक समितिका एक सदस्यले छानबिनको माग जायज रहेको बताउनुभयो। समितिका अध्यक्ष सलामुद्धिन अन्सारीसहित पूर्वअध्यक्ष मोजोमिल हकसहित सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिएको छ। 

सहकारीबाट सीमित व्यक्तिले बिना धितो नै ८० लाख रुपियाँभन्दा बढीको कारोबार गरेको पाइएको छ। हरिनगरका वडाध्यक्ष प्रविणप्रसाद गुप्ताले मौखिक रूपमा आफूलाई केही स्थानीयले यस बारेमा बताएको उल्लेख गर्नुभयो। 

समितिका सदस्य मुर्सिद आलमले हरिनगर–२, रामनगर, भुटाहामा रहेको सरोकार बचतले जनतालाई सेवाभन्दा समितिका केहीले मात्रै फाइदा लिएको प्रतिक्रिया दिनुभयो। आवाज उठाउँदा आफूलाई कारबाहीको पत्र पठाएको प्रतिक्रिया दिनुभयो। अनियमितता भएको सम्बन्धमा आवाज उठाउँदा आफूलाई स्पष्टीकरण सोधी निष्कासन गरिएको पनि उहाँले बताउनुभयो।