• १२ असोज २०८१, शनिबार

अदालतको आदेशपछि सडक निर्माण पुनः सुरु

blog

गाईघाट समाचारदाता

गाईघाट, माघ २० गते । गाईघाट–दिक्तेल सडक कालोपत्रे गर्ने कामले गति लिने भएको छ। ठेक्का लिएर वर्षौसम्म  काम ओगट्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने आयोजना कार्यालयको निर्णयलाई अदालतले अन्तरिम आदेश गरेपछि कामले गति लिने भएको हो। 

सम्झौताअनुरूप तोकिएको समय सीमाभित्र काम नगरेपछि गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयले कालोपत्रेको कामको ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीसँग भएको ठेक्का सम्झौता रद्द गरिएको थियो। उच्च अदालत पाटनले आयोजना कार्यालयको उक्त निर्णयलाई कार्यान्वयन नगर्न भनी आदेश जारी गरेपछि गाईघाट–दिक्तेल सडकमा कालोपत्रे गर्ने कामले गति लिन लागेको हो।  

पुरानो ठेकेदारले काम नगरेपछि अर्काे ठेक्का लगाउन प्रक्रिया अगाडि बढाउन लाग्दा त्यसका विरुद्ध निर्माण कम्पनीले पाटन उच्च अदालतमा रिट निवेदन हालेको थियो। यथास्थितिमा काम गर्न दिन र समय समयमा कामको प्रगति के कसो हुन्छ त्यसको अनुगमन गर्न आदेश दिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो। 

सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने विभिन्न प्याकेजमा सडक कालोपत्र गर्ने जिम्मा लिएको निर्माण कम्पनीले पटकपटक थपिएको म्यादसमेत गुजारेको थियो/। काम अलपत्र छाडेपछि खोटाङ र उदयपुर दुवै तर्फको ठेक्का सम्झौता खरिद ऐन तथा निमावली अनुरूप रद्द गरिएको उहाँले बताउनुभयो। 

खोटाङको फोक्सिङटार–सिम्पानी २६ किलोमिटर कालोपत्रेको कामगर्न दुई वर्ष पहिले नै २०७७ साल साउन १० गतेभित्र काम सक्ने गरी २०७३ साउन ११ गते देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीसँग ५५ करोड ८७ लाख रुपियाँको लागतमा ठेक्का सम्झौता गरिएको थियो।

त्यसैगरी उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको थियो। मैनाचुली–सिद्धिसाई प्रकाश जेभीले करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ गते सक्ने गरी २०७५ भदौ १४ गते सम्झौता गरेको थियो। 

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती हुँदै आएको, गरिएको काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको गुनासा छन्। त्यस्ता कम्पनीलाई जिम्मेवारीबाट हटाउन पनि नसकिने प्रावधानले आम सर्वसाधारण भने धुले सडकमा सास्ती खेप्न बाध्य हुँदै आएको स्थानीय गीता मगरले बताउनुभयो।  निर्माण कम्पनीका प्रतिनिधि विनोद बोहोराले अर्को हप्ताबाट काम सुरु गर्ने तयारी भएको बताउनुभयो।