• १३ साउन २०८१, आइतबार

नौ वर्षपछि पुल निर्माण

blog

शालिग्राम नेपाल 

चितवन, माघ १९ गते । चितवनको ठिमुराबाट तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने भएको छ। निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर समस्या भएको पुलको हाल अन्तिम ढलानको काम हुँदै छ। सिमेन्टेड स्ल्याप निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ। 

नदीको बीच भागमा गहिरो भएकाले सिमेन्टेड स्ल्याप बनाउन कठिन भएपछि फलामे ट्रस्टबाट निर्माण गर्न आर्क आकार बनाउने काम अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की क्षेत्रीले जानकारी दिनुभयो। 

“आर्क निर्माण सकिएपछि फलामे ट्रस्ट राख्ने काम गरिनेछ यो काम सकिएपछि पुलको माथिल्लो भागको काम सकिन्छ,” कार्कीले भन्नुभयो, “अरू पुलको दुवैतर्फ पहुँच मार्ग निर्माणको काम मात्र बाँकी रहन्छ।” चितवनबाट देवघाट जाने छोटो मार्गका लागि पुल निर्माण नहुँदा समस्या भएपछि २०७१ कात्तिक २० गते इलाइट एड्भेन्चर इन्द्रेणी जेभी भरतपुरले ठेक्का पाएको थियो। 

समयमा काम नभएपछि म्याद थप्दै गर्दै जाँदा निर्माण भएको दुईवटा स्ल्याप २०७७ चैत २४ गते भत्किएको थियो। गत वर्ष वैशाख १२ गते पुनः अर्को स्ल्याप भत्कियो। दोस्रो पटक स्ल्याप भत्कँदा तीन जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए। ‘‘पहिलो पटक राति भत्केकाले मानवीय क्षति भएन तर दोस्रो पटक दिउँसो काम गर्दै गर्दा भत्कँदा पुलले नदीमा च्यापिँदा मजदुरको मृत्यु भएको थियो,” कार्कीले भन्नुभयो। 

विगतको समस्या नदोहो-याउने गरी सावधानीपूर्वक काम भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कार्कीले बताउनुभयो। इन्जिनियर कार्कीका अनुसार फ्रिस्टेस प्रविधिबाट नेपालमा पुलहरू निर्माण गरिँदै आएको छ। यो प्रविधिबाट निर्माण गर्दा केही मापदण्डहरू पूरा गर्नुपर्छ, जसलाई घण्टा र दिन गनेर काम गर्नुपर्छ। तोकेकै दिनमा टेका मिलाउनु पर्ने हुन्छ। त्यसरी काम गर्न छुटेमा समस्या आउन सक्छ। 

‘‘अब हामीले यो विषयलाई सावधानीपूर्वक ध्यान दिएर काम गरेका छौँ,” उहाँले भन्नुभयो, “पहिलो पटक ठेक्का लागेको मितिले २०७४ कात्तिक १९ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर, पुल निर्माणको क्रममा दुर्घटना भएपछि पाँचौँ पटक म्याद थप गरेर २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने समय पु-याइएको छ।”

संशोधित सम्झौताअनुसार २१ करोड ७८ लाख ८४ हजार रुपियाँ लागतमा निर्माण हुने पुलको लम्बाइ दुई सय मिटर रहेको छ। ४० मिटरका तीनवटा सिमेन्टेड स्पाम र ८० मिटरको एउटा फलामको स्पाम रहनेछ। पुलको ८० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको  इन्जिनियर कार्कीले जानकारी दिँदै असारमा निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन गर्न मिल्ने तयारीका साथ काम भइरहेको बताउनुभयो। 

धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटधाम जाने पुल मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गामा निर्माण भएर दस वर्षअगाडिबाट सञ्चालनमा आएको छ। यो पुल पायक नपरेको भन्दै छोटो बाटोका लागि रामनगरबाट ठिमुरा हुँदै देवघाट जाने पुल निर्माण सुरु भएको हो। अहिले चितवनको देवघाटवारिबाट पारि छिटो पैदल जान झोलुङ्गे पुलको प्रयोग र सवारीसाधनबाटै जानु पर्दा दासढुङ्गा पुगेर जानु पर्ने बाध्यता रहेको छ।