• १२ असोज २०८१, शनिबार

दाहसंस्कारका लागि मुक्तिघाट

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १९ गते । झापाको दमकमा दाहसंस्कार गर्ने स्थल नहुँदा मृत्यु संस्कार गर्न अप्ठेरो परेको भन्दै घाट निर्माण गरिने भएको छ। आर्थिक अवस्था कमजोर भएकालाई दाह संस्कारका लागि  टाढा जना समस्या भएपछि दमकमै मुक्तिघाट बनाउन थालिएको हो।  

एक दशकअघिदेखि नै दमकमा मुक्तिघाट बनाउने विषयमा छलफल भएर केही बजेट विनियोजन भए पनि घाट बन्न सकेको छैन। एक दशकअघिदेखि नै दमक नगरपालिकाको नीति तथा कार्यक्रममा पनि मुक्तिघाट बनाउने विषय समावेश हुँदै आएको छ।

मुक्तिघाट बनाउनका लागि एक दशकअघि नै समिति बनेको भएपनि अहिलेसम्म व्यवस्थित मुक्तिघाट बन्न नसकेको मुक्तिघाट निर्माणमा अगुवाइ गर्दै आउनुभएका नन्दिकेशर अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले मुक्तिघाट बनाउने स्थल दमक–३ को रतुवा खोलाको किनारमा नापजाँचसहित गुरुयोजना बनाउन थालिएको छ।

पहिला पनि मुक्तिघाट बनाउने गुरुयोजना बनेको थियो। गुरुयोजनाअनुसार काम भने भएको थिएन। मुक्तिघाट नभएका कारण दमक तथा आसपासका व्यक्तिले मृत्यु संस्कारका लागि कनकाई खोलामा लैजाने गरिएको छ। यो दमकबाट २० किलोमिटरभन्दा बढी टाढा पर्दछ। 

मलामीका लागि एउटा बस तथा गाडी आवश्यक पर्छ। यसका लागि आठ हजारभन्दा बढी खर्च हुने गरेको बताइन्छ। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले यो वर्षबाट मुक्तिघाट बनाउन सुरु गरिने जानकारी दिनुभयो।