• १२ असोज २०८१, शनिबार

दोर्दीमा ज्येष्ठ नागरिक सम्मानित

blog

लमजुङको दोर्दी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, माघ १८ गते । लमजुङको दोर्दी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो सिरक तथा कपडासहित ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।

सम्मान कार्यक्रम अन्तर्गत वडा कार्यालयले सिरक, कम्बल साथै न्यानो कपडा वितरण गरेको छ । कार्यक्रम अन्तर्गत दोर्दी गाउँपालिका ९ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 

वडाभित्रका ७९ वर्षमाथिका ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष आशिष तामाङका अनुसार वडामा कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई फाइबर सिरकले सम्मान गरेको हो । वडाभित्रका ज्येष्ठ नागरिकलाई न्यानो बनाउनप्रति ज्येष्ठ नागरिकलाई १ हजार ५ सय रुपियाँ बराबरको फाइबर सिरक प्रदान गरिएको हो ।

पालिकाको महिला विकास शाखाद्वारा विनियोजित १ लाख रुपियाँ बजेटबाट वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको अध्यक्ष तामाङले बताउनुभयो । समाजमा ज्येष्ठ नागरिकको ठूलो योगदान रहेको र सबैले ज्येष्ठ नागरिकको कदर, सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ७९ वर्ष माथिका उमेर समूहका एकल महिला तथा पुरुष, अति गरिब, बिपन्न भएका आधारमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको उहाँका भनाइ छ ।

सम्मान कार्यक्रममा निर्वमान अध्यक्ष खेमबहादुर गुरुङ, कार्यपालिका सदस्य लिलाबहादुर सुनार, दोर्दी–दूधपोखरी पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद गुरुङ, वडासचिव दिपक बुढा, वडासदस्यहरु, टोलसुधार समितिका संयोजकलगायतको उपस्थिति थियो ।