• १४ असार २०८१, शुक्रबार

चार हजार ६३३ परिवारलाई गरिब परिचयपत्र दिइँदै

blog

बगनासकाली गाउँपालिकाले गरिव पहिचानपत्र वितरण गरिदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, माघ १८ गते । पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको स्थानीय तहहरूले जनाएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त विपन्न परिवारको पहिचानपत्र वितरणको काम सुरु भएको बगनासकाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्राप्त ११३ परिवारको गरिब पहिचान परिचयपत्र घरमै पुगेर वितरणको काम सुरु गरिएको पालिकाकी अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । परिचयपत्र वितरणपछि स्थानीय, प्रदेश र सङ्घीय सरकारले दिने विभिन्न सेवा तथा सुबिधा न्यायोचित बन्ने उहाँले बताउनुभयो । 

यस्तै, जिल्लाको निस्दी गाउँपालिकामा ५०१, माथागढी गाउँपालिकामा ३३० परिवारलाई गरिव परिचयपत्र वितरण गर्न थालिएको हो । सरकारले अति गरिब, मध्यम् गरिव तथा सामान्य गरिब गरेर तीन प्रकारमा गरिवको बर्गीकरण गरेर पहिचानपत्र पठाएकाले त्यसलाई तत्कालै वितरण गर्न लागेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । तानसेन नगरपालिकामा ६८७ परिवारको पहिचानपत्र वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

जिल्लाको सबैभन्दा बढी गरिव परिचयपत्र पाउनेमा रामपुरका नगरबासी रहेका छन् । रामपुरमा मात्रै एक हजार ७५ परिवारले गरिव पहिचान परिचयपत्र प्राप्त गर्नेछन् । यस्तै, पूर्वखोलामा २२७, रम्भामा ३१८, रिब्दीकोटमा २८७, रैनादेवी छहरामा ५३४ र तिनाउमा ५६१ परिवारले गरिव पहिचान परिचयपत्र पाउने तथ्याङ्कमा उल्लेख छ । गरिव पहिचान परिचयपत्र तत्कालै वितरण गरेर त्यसको जानकारी मन्त्रालयमा पठाउने पालिकाहरूले जनाएका छन् । 

पहिचानपत्रका आधारमा योजना तथा कार्यक्रम तय गर्न सहज हुने पालिकाको भनाइ छ । सरकारले विपन्न नागरिकको पहिचान गरेर पठाइसकेकाले अब सोहीअनुसार विपन्नता हटाउन कार्यक्रम सुरु गर्न सहज हुने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । गरिव पहिचानपत्रका आधारमा राज्यले उपलब्ध गराउने सेवा सुबिधा वितरणमा समेत सहज हुने अध्यक्ष चिदीले बताउनुभयो ।